वरिष्ठ सङ्गीतसाधक कुमार सुन्दास पञ्चतत्त्वमा बिलीन

703748f2-95fd-43b7-a743-12354ac793b9


बाग्राकोट- विशिष्ट गायक तथा सङ्गीतकार कुमार सुन्दासको अन्तिम संस्कार उनकै पैतृक गाउँ बाग्राकोटमा सम्पन्न गरिएको छ। मधुमेह रोगले विगत केही महिनादेखि ओछ्यान परेका सुन्दासको बिहीवार बिहान १०.१० बजे निधन भएको थियो। उनी ७४ वर्षका थिए। उनले आफूपछि एक छोरा-बुहारी, दुई छोरी-ज्वाइँ तथा नाता-नातिनीहरू छोड़िगएका छन्। करिब एक वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो। डुवर्सको सङ्गीत जगतलाई समृद्ध बनाउन कुमार सुन्दासले दिएको अवदानलाई आज विशेष प्रकारले स्मरण गरियो। निजी निवासबाट शवयात्रा निस्कनअघि सुप्रसिद्ध गायक पुष्पन प्रधान र युवा सचेतक बिनम रनपहेंलीले कुमार सुन्दासद्वारा सङ्गीतबद्ध दुईवटा गीत ‘कलम काँटी हातैमा ठेला नि’ र ‘यो बस्ती-बस्ती हुँदै आऊ’ गीतहरू गिटारको धुनमा गाएर उनकै धुनमा श्रद्धाञ्जली दिए।। पुष्पन प्रधानले सङ्गीत जगतमा कुमार सुन्दासले दिएको योगदानको स्मरण गरे। उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेपछि शवयात्रा शुरु भयो, जसमा स्थानीय बुद्धिजीवी, समाजसेवी, लेखक, कलाकार, साहित्यकार तथा सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने डुवर्स नेपाली साहित्य विकास समिति, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, साहित्य परिक्रमा, आदिवासी गोर्खा संयुक्त समिति, विभिन्न ट्रेड युनियनका प्रतिनिधिअनि नेतृत्वगण शवयात्रामा सहभागी थिए। श्मशानघाटमा पुगेर अन्तिम संस्कार गर्नअघि कुमार सुन्दासका निकटमा रहेका डुवर्स नेपाली साहित्य विकास समितिका पूर्व अध्यक्ष सितम मोक्तानले सुन्दासबारे छोटो मन्तव्य राखे। ८०/९० को दशकमा वरिष्ठ गीतकार आशिक मोक्तान, कुमार सुन्दास अनि वरिष्ठ नाटककार, कवि तथा गीतकार नरेन्द्र खड्का मिलेर ‘आकुन’ नामक संस्था गठन गरेको कुरा मोक्तानले अवगत गराए। उनको १३ दिने शुद्धिकार्य आगामी २२ नोभेम्बरको दिन परेको पारिवारिक सूत्रले जनाएको छ।
एक अब्बल कोटिका सङ्गीतकार कुमार सुन्दासका पिता सानुभाइ सुन्दास पनि एक सिद्धहस्त हार्मोनी वादक थिए। कुमार सुन्दासलाई एक सिद्धहस्त चित्रकारका रूपमा थोरैले मात्र चिनेका छन्। उनको यो पक्ष पनि सबल मानिन्छ। परिवारमै साङ्गीतिक माहौल विरासतमा पाएका कुमार सुन्दासकी छोरी सिर्जना सुन्दास परिचित गायिका हुन्। प्रतिभासम्पन्न युवा पुस्तालाई साङ्गीतिक माहौलमा डोहोऱ्याउन तथा उनीहरूलाई मार्गदर्शन गर्न सुन्दासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले सङ्गीतबद्ध गरेका तथा गाएका गीतहरू नेपाल रेडियो र खरसाङ रेडियोबाट पनि प्रसारण भएका छन्। डुवर्स नेपाली साहित्य विकास समितिद्वारा निर्मित ‘गीतिकुञ्ज’ क्यासेटमा समाविष्ट गीतहरूमा पनि उनले सङ्गीत भरेका छन्। उनकी छोरी सृजना सुन्दास र भतिजी सरोजा सुन्दासद्वारा स्वरबद्ध क्यासेट ‘आफ्नै बाटो’ -मा उनले सङ्गीत भरेका छन्। ‘गोर्खा दु:ख निवारक सम्मेलन’ दार्जीलिङद्वारा आयोजित सङ्गीत प्रतियोगितामा तिनको नेतृत्वमा सहभागी डुवर्सका कलाकारहरूले वर्षैपिच्छे लगातार सर्वश्रेष्ठ कलाकारको पुरस्कार हत्याएका छन्। उनको परिवार नै सङ्गीतमय छ; कलाकारिताले भरिएको छ। उनकी छोरी सर्वदा सुन्दासमा बाबुको चित्रकारिताको गहिरो छाप छ। उनका माइला भाइ किशोर सुन्दास हारमोनियम वादक र गायक हुन्। अर्का भाइ रतन सुन्दास एक समयका राम्रा चित्रकार हुन्। कान्छा भाइ किशन पनि लोक कलाकार हुन्। काकाका छोरो अमीर सुन्दास सुप्रसिद्ध चित्रकार, वादक तथा यो समयका प्रतिभावान र चर्चित मूर्तिकार हुन्। चित्रकारिताको क्षेत्रमा अमीर सुन्दास कुमार सुन्दासलाई आफ्नो प्रेरणास्रोत मान्छन्।
सुपरिचित गायिका रजनी सुन्दास तिनका सहोदर भाइ रतन सुन्दासकी जेठी छोरी हुन्। कुमार सुन्दासको उच्च प्रतिभा र योगदानको कदर गर्दै डुवर्स नेपाली साहित्य विकास समितिले २०१७ मा उनलाई चौथो बीबी दर्नाल स्मृति पुरस्कारद्वारा अलङ्कृत गरेको थियो; २०१८ मा विकास समितिको मानद् आजीवन सदस्यता प्रदान गरेको थियो। उनी चिया बगानका स्टाफका रूपमा दीर्घ दिनसम्म कार्यरत् रहेर सेवानिवृत्त भएका थिए। विशिष्ट सङ्गीतशिल्पी कुमार सुन्दासको निधनमा डुवर्सका विभिन्न सङ्घ-संस्थाहरूले शोक प्रकट गरेका छन्। डुवर्सको माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले केही महिनाअघि उनलाई हेर्न विकास समितिका पदाधिकारीहरू उनको घरमै पुगेको अनि भलाकुसारी गरेर उनको हौसला बढ़ाएको स्मरण गर्दै सुन्दासको निधनले नेपाली साङ्गीतिक जगतमा अपूरणीय क्षति पुगेको बताएका छन्। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले भने, कुमार सुन्दास हाम्रा साङ्गीतिक लिजेन्ड थिए। उनको सङ्गीत साधना आफैमा एक तपस्या र समर्पण थियो। सङ्गीतलाई आफ्नो जीवनशैली नै बनाएर उनले डुवर्सेली सङ्गीत जगतलाई मार्गदर्शन गरिरहे। यस्ता विभूतिको निधनले हामी शोकित छौं। शोक संतप्त परिवारप्रति प्रतिष्ठानले समवेदना प्रकट गरेको छ। यसैगरी, साहित्य परिक्रमा परिवारले पनि उनको निधनमा गहिरो शोक जताएको छ।

About Author

Advertisement