वरिष्ठ पत्रकार सुवास दिपक ‘काशीराज प्रधान लाइफटाइम जर्नलिज्म अवार्ड २०२३’ ले सम्मानित

n561134348170134882094622412d27cc60a6be4375235bc95c16dc44a6574d75eb3706ced2730e7b8d1fff.jpg

गान्तोक: सिक्किमका एक वरिष्ठ पत्रकार, लेखक एवं अनुवादक सुवास दिपक ‘काशीराज प्रधान लाइफटाइम जर्नलिज्म अवार्ड २०२३’ ले सम्मानित भएका छन्।

राजधानीको चिन्तन भवनमा आज मनाइएको राष्ट्रिय प्रेस दिवस कार्यक्रममा उनलाई उक्त पुरस्कारले सम्मान जनाइएको हो। कार्यक्रमको आयोजना आईपीआर विभागले गरेको थियो।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित सूचना एवं जनसम्पर्क विभाग मन्त्री बीएस पन्तको बाहुलीद्वारा वरिष्ठ पत्रकार दिपकलाई सम्मानित गरियो। सम्मान स्वरूप पॉंच लाख रूपियॉंको चेक, अंगवस्त्र, सम्मान पत्र र स्मृति चिन्ह अर्पण गरियो।

यसरी नै राज्यका एक वरिष्ठ पत्रकार जोसेफ लेप्चालाई ‘स्व. वाईएन भण्डारी बेस्ट जर्नलिज्म अवार्ड २०२३’ ले सम्मानित गरियो। पत्रकार लेप्चालाई मन्त्री पन्तको बाहुलीद्वारा दुई लाख रूपियॉंको चेक, अंगवस्त्र, सम्मान पत्र र स्मृति चिन्ह अर्पण गरियो। पत्रकारिताको क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुऱ्याएवापत पत्रकार लेप्चालाई सम्मान गरिएको हो।

यसैगरी, पत्रकारिताका विभिन्न क्षेत्रमा आफ्नो कलम चलाएर समाजमा उल्लेखनीय योगदान पुऱ्याउॅंदै आएका तीनजना पत्रकारलाई पनि आजको कार्यक्रममा सम्मानित गरियो। यसक्रममा वरिष्ठ पत्रकार एवं लेखक प्रवीण खालिङलाई जलवायु परिवर्तनमाथि रिपोर्टिङ, पत्रकार समीरहाङ लिम्बूलाई महिला मामिलामाथि रिपोर्टिङ र पत्रकार उष्णता छेत्रीलाई मानव अधिकार मामिलामाथि रिपोर्टिङको निम्ति सम्मानित गरियो।

तीनैजना पत्रकारलाई मुख्य अतिथिको बाहुलीद्वारा ५०-५० हजार रूपियॉंको चेक, अंगवस्त्र र सम्मान पत्र अर्पण गरियो। हरेक वर्ष १६ नोभेम्बरको दिन राष्ट्रिय प्रेस दिवस पालन गरिन्छ। तर, यसपाली तिहारका कारण निर्धारित समयमा सो दिवस पालन गर्न सकिएको थिएन।

About Author

Advertisement