लेवाण्डोस्कीलाई हासिल गर्ने बार्सिलोनाको इच्छा, छोड़्न राजी छैन बायर्न म्यूनिख

२६ जूनः स्पेनको अग्रणी फूटबल क्लब एफसी बार्सिलोना र पोल्याण्डका स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीबीच अनुबन्धको चर्चा लगातार बढ़िरहेको छ। रिपोर्ट अनुसार, स्पेनिश क्लबले लेवाण्डोस्कीलाई हासिल गर्नको निम्ति ४० मिलियन पाउण्ड (लगभग ३३० करोड़ रुपियाँ)-को प्रस्ताव दिएको छ। यसमा ३५ मिलियन पाउण्ड (लगभग २८८ करोड़ रुपियाँ)-को साथ केही एड-अन्स पनि रहनेछ अर्थात् अतिरिक्त राशि। यसबीच लेवाण्डोस्कीको वर्तमान क्लब बायर्न म्यूनिखलाई चाहिँ २०२१-मा फीफा प्लेयर अव् द इयर रहने खेलाड़ीको निम्ति यो राशि कम्ती लागिरहेको छ। यसैकारण बायर्न आफ्ना स्टार खेलाड़ी लेवाण्डोस्कीलाई सस्तैमा छोड़्न चाहँदैन।
बायर्नको प्रबन्धनले लेवाण्डोस्कीलाई क्लब नछोड़्ने सुझाउ दिएको छ। कम्तीमा पनि अनुबन्धको मियाद समाप्त नभइञ्जेलसम्मको निम्ति। बायर्नसँग लेवाण्डोस्कीको २०२३-सम्मको अनुबन्ध रहेको छ। यसरी नै लेवाण्डोस्की चाहिँ बार्सिलोना जान इच्छुक छन्। बायर्नमा बस्ने इच्छा नरहेको उनले अगावै बयान दिइसकेका छन्। क्लब छोड़्ने उनको इच्छाले गर्दा नै प्रशिक्षक जूलियन नेगल्सम्यानसँग लेवाण्डोस्कीको सम्बन्ध पनि खराब भएको छ। पोल्याण्डका ३३ वर्षीय लेवाण्डोस्कीले २०२१-२२ सीजनमा जर्मन क्लबबाट सबै प्रतियोगिताहरू मिलाएर ४६ वटा म्याचमा ५० गोल गरेका थिए। यसबीच यूरोपियन मीडिया रिपोर्ट अनुसार, लेवाण्डोस्कीले बायर्न म्यूनिख छोड़े क्लबले क्रिस्टियानो रोनाल्डोलाई हासिल गर्ने प्रयासलाई अझ तेज गर्नेछ। म्यानचेष्टर युनाइटेडबाट खेलिरहेका पोर्तुगलका दिग्गज फूटबलरको ओल्ड ट्रेफर्डमा भविष्य त्यति राम्रो देखिएको छैन कारण टीम च्याम्पियन्स लीगको आउँदो सीजनको निम्ति क्वालीफाई गर्न विफल रहेको छ।
बायर्न यूरोपको एलीट क्लब कम्पिटीशनमा आफ्नो धाकलाई अझ दह्रिलो बनाउन चाहन्छ। बायर्नले २०२०-मा च्याम्पियन्स लीगको खिताब जितेको थियो। यसपाली रोनाल्डोलाई हासिल गर्न सके क्लबले फेरि एकपल्ट च्याम्पियन्स लीग जित्ने सपना देख्न सक्नेछ। बायर्नले बुधवार सेडियो मानेसँग अनुबन्ध गरेको थियो। माने यसअघिसम्म ईंग्लिश प्रीमियर लीग क्लब लिभरपूलमा खेल्थे। यसबीच म्यानचेष्टर युनाइटेडका फ्रेञ्च मीडफिल्डर पल पोग्बा इटलीको क्लब युभेण्टसमा सामेल हुन सक्छन्। पोग्बाका एजेण्ट राफेसा पिमेण्टा र इटालियन क्लब युभेण्टसबीच बैठक भएको छ। यस बैठकमा पोग्बाको अनुबन्ध र राशिमाथि चर्चा भयो। पोग्बासँग युभेण्टसले तीन-चार सालको अनुबन्ध गर्न सक्छ। उनी तीनदेखि आठ जुलाईबीच तूरिन पुग्ने सम्भावना रहेको छ।

About Author

Advertisement