म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन बार्सिलोनाले उत्कृष्ट प्रदर्शनको क्रमलाई जारी राख्दै दोस्रो स्थान हासिल गऱ्यो। बार्सिलोनाले आइतवार राति खेलिएको म्याचमा एट्लेटिको म्याड्रिडलाई ३-०-ले पराजित गऱ्यो। यस अवे म्याचम ६० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको यादगार जीतमा रोबर्ट लेवाण्डोस्कीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। पोल्याण्डका यस स्टार फरवर्डले एक गोल गर्नको साथै दुईवटा एसिस्ट गरे। फ्रेंकी डी जोंग, पेड्री र गावी जस्ता अनुभवी खेलाड़ीहरू बिना खेल्न ओर्लिए पनि बार्सिलोनालाई म्याच जित्न अधिक समस्या भएन। बार्सिलोनाको निम्ति जोआओ फेलिक्सले ३८औं, लेवाण्डोस्कीले ४७औं र फेर्मिन लोपेजले ६५औं मिनटमा गोल गरे।

एट्लेटिको म्याड्रिडका खेलाड़ी नाहुएल मोलिनालाई म्याचको अन्तिम समय (इञ्ज्युरी टाइमको दोस्रो मिनट)-मा रेड कार्ड देखाइयो। यस जीतको साथै बार्सिलोना २९ वटा म्याचमा ६४ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलमा दोस्रो स्थानमा पुग्यो। अहिले उनीहरूसँग शीर्षमा रहने रियल म्याड्रिडभन्दा ८ पोइण्ट्स कम्ती रहेको छ। यसको विपरीत लगातार दोस्रो हारले एट्लेटिको म्याड्रिडको निम्ति चाहिँ ला लीगाको खिताब जित्ने सम्भावनालाई ठूलो धक्का लाग्यो। टीम अहिले ५५ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ।

यसरी भिल्लारियलले रोमाञ्चक म्याचमा भेलेन्सियालाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने भिल्लारियलबाट म्याचको एकमात्र गोल जर्ज कुएन्साले ५४औं मिनटमा गरे। यस जीतपछि भिल्लारियल ३८ पोइण्ट्सको साथ नवौं स्थानमा पुग्यो। यसरी आठौं स्थानमा रहने भेलेन्सियासँग ४० पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रायो भाल्लेकानोले रियल बेटिसलाई २-०-ले, अल्मेरियाले लास पालमासलाई १-०-ले अनि सेल्टा विगोले सेविलेलाई २-१-ले पराजित गऱ्यो।











