लाचेन रोड खुलाउन हाई-लेवल कमिटीद्वारा तरुम छु साइटको निरीक्षण

FB_IMG_1780500230316

२०० मिटर लामो स्टील ब्रिज र टनेल बनाउने विषयमा चर्चा

मङ्गन: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-को निर्देश र रेखदेखमा लाचेन जाने बाटोघाटो अनि यातायात व्यवस्थालाई फेरि सुचारु गर्नका लागि गठन गरिएको एउटा हाई-लेवल कमिटीले मङ्गलवार तरुम छु साइटको भ्रमण गरेको छ।
​यो उच्चस्तरीय टोलीमा रोड एण्ड ब्रिजेज डिपार्टमेन्टका प्रिसिपल चिफ इन्जिनियर-कम-सेक्रेटरी ए.बी. सुब्बा, माइन्स एण्ड जियोलोजी डिपार्टमेन्टकी सेक्रेटरी डिकी याङ्जोम, ल्याण्ड रेभिन्यु एण्ड डिजास्टर म्यानेजमेन्टका स्पेशल सेक्रेटरी हेम क्षेत्री, एसएसडिएमए-का डाइरेक्टर प्रभाकर राई, माइन्स एण्ड जियोलोजीका प्रिन्सिपल डाइरेक्टर फिगु भुटिया, फरेस्ट डिपार्टमेन्टका कन्जर्भेटर सुरज थाताल, मङ्गनका डीसी अनन्त जैन, प्रोजेक्ट स्वास्तिकका चिफ इन्जिनियर ब्रिगेडियर अमित साखरे, डीएफओ छिरिङ वाङ्गेल, एएसपी मङ्गन विजय सुब्बा, एसडीएम चुङ्थाङ अरुण क्षेत्री, एसडीपीओ चन्दन क्षेत्री अनि लाचेन जुम्साका पिपोनहरू खायचोताक लाचेनपा र छो बन्दु लाचेनपालगायत विभिन्न विभागका अधिकारीहरू सामेल थिए।
​कमिटीले तरुम छु क्षेत्रको स्थलगत स्थिति हेरेर लाचेनको सडक सञ्चालन गर्न सकिने सम्भावित उपायहरूबारे गम्भीर रूपले जाँचबुझ गरेको छ। टोलीका सदस्यहरूले हाल भइरहेको सडक मर्मत कार्यको समीक्षा गर्दै यात्रीहरूको सुरक्षा र छिटोभन्दा छिटो बाटो खुलाउने उपायहरूमाथि पनि विचार-विमर्श गरे। प्रभावित क्षेत्रको विस्तृत मूल्याङ्कन गरेपछि कमिटीले तुरुन्तै गरिने र दीर्घकालीन रूपमा बाटोलाई सधैँका लागि दरो बनाउने रणनीतिबारे चर्चा चलाएको छ।
​अहिले भीर कटान (रक-कटिङ) गरेर बनाइँदै गरेको अस्थायी सडकको प्रगतिको निरीक्षण गर्दै कमिटीले सडकलाई स्थायी रूपमा जोड्ने अन्य विकल्पहरूमा पनि बातचित गर्‍यो. यसै क्रममा ग्रेफका अधिकारीहरूले काम तोकिएको समयभित्रै पूरा हुने आशा दिलाएका छन्. ग्रेफले कमिटीलाई भविष्यको स्थायी समाधानबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा २०० मिटर लामो ‘स्टील डबल आर्च ब्रिज’ बनाउने योजना रहेको बताएको छ, जसले गर्दा यस संवेदनशील क्षेत्रमा कहिल्यै यातायात नरोकिने विश्वास लिइएको छ।
​यसका साथै, सो प्रभावित क्षेत्रलाई छलेर (बाइपास गरेर) झन्डै १८६ मिटर लामो टनेल (सुरुङ) खनेर स्थायी सडक बनाउन सकिने सम्भाव्यताबारे पनि यस भ्रमणका क्रममा छलफल भएको छ। भौगोलिक चुनौतीहरूलाई सामना गर्दै यस क्षेत्रमा समयमै सडक यातायात पुनः सुरु गर्नका लागि व्यावहारिक उपायहरू खोज्ने कुरामा नै सबैको ध्यान केन्द्रित रहेको थियो।

About Author

Advertisement