‘लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

Kangaroo

टीआरआई समाचार

काठमाडौं: फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ। राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए। यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो। फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो। फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ।

फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन्। टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता रहेकोयो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ। फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ। फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स(यूके)ले पनि सहकार्य गरेको छ। फिल्मको विषयमा निर्देशक बस्नेत भन्छन्, ‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ। यसपछि, केही फरक कथा भन्न मन लागेको थियो। यसैले, कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं। दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ।’ फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माणपक्षले बताएको छ।

यो फिल्मको छायांकन फागुणदेखि शुरु हुनेछ।

About Author

Advertisement