खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको विभिन्न समस्याहरु लिएर खरसाङको रेलवे स्टेशनमा हस्ताक्षर अभियान आयोजना गरिएको छ। खरसाङ क्षेत्रका युवाहरुको आयोजनामा सम्पन्न उक्त हस्ताक्षर अभियान कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न युवाहरुका संघ संस्थाहरु र एनजीओहरुले सहभागिता जनाएका थिए। यस हस्ताक्षर अभियान कार्यक्रममा विभिन्न युवाहरुले हस्ताक्षर अभियान चलाउनुको साथै वक्तव्यहरु पनि राखेका थिए। वक्तव्य राख्ने क्रममा छेवाङ योञ्जन, सुमेन्द्र तामाङ, तनुजा लामा, लबीन विश्वकर्मा, दावा शेर्पा, नारायण काफ्ले, प्रसिध्द राई, सेमिका लामा आदिले वक्तव्य राखेका थिए।

यसको साथै प्रसिध्द तामाङ, उज्जवल छेत्री, प्रसिध्द राई आदिले समूह गीत पनि प्रस्तुत गरेका थिए। युवाहरुले लङ्भ्यु चियाबारीको श्रमिकहरूले पाउनु पर्ने हक र अधिकार साथै अहिलेसम्म मालिकवर्गले हाजिरा, पीएफ र ग्राजुएटीको रकम सठीक रुपमा नदिएको विषयमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। उल्लेखनीय छ खरसाङको लङ्भ्यू चियाबारीको श्रमिकहरुले ५९ दिनसम्म भोक हडतालको आयोजना गरेपछि गत १३ जूनदेखि ७२ घण्टे रिले अनसन शुरु गरेका थिए भने हालमा ७२ घण्टे रिले अनसनको पाँचौं चरण चलिरहेको छ। लङ्भ्यु चियाबारीको श्रमिकहरूको पक्षमा नै आज खरसाङको रेलवे स्टेशन परिसरमा हस्ताक्षर अभियान आयोजना गरिएको छ। यस हस्ताक्षर अभियान कार्यक्रममा खरसाङका संघ संस्थाहरु र एनजीओहरुमा ईभान फाउण्डेशन, लाली गुराँस समूह, वी केयर खरसाङ लगायत अन्यका प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस हस्ताक्षर अभियान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै छेवाङ योञ्जनले लङ्भ्यू चियाबारीको श्रमिकहरुले विगत धेरै समयदेखि दैनिक हाजिरा, पीएफ, ग्राजुएटी नपाएकोले विगत लामो समयदेखि भोक हडताल चलिरहेको थियो भने विगत १३ जूनदेखि ७२ घण्टे रिले अनसन शुरु भएको र ७२ घण्टे अनशनको पनि पाँचौं चरण चलिरहेको तर लङ्भ्यू चियाबारीको श्रमिकहरुको समस्या समाधान नभएको बताए।

उनले लङ्भ्यू चियाबारीको श्रमिकहरुको समस्या समाधानको लागि खरसाङको रेलवे स्टेशन परिसरमा खरसाङ क्षेत्रका युवाहरुको संगठनको सहयोगमा हस्ताक्षर अभियान आयोजना गरिएको जानकारी गराएका छन्। उनले केन्द्र र राज्यमा नै डबल इञ्जिनको सरकार छ तर पनि लङ्भ्यू चियाबारीको श्रमिकहरुको समस्या समाधान नभएकोमा आश्चार्य प्रकट गरेका छन्।









