लङभ्यू श्रमिक आन्दोलन अन्तर्गत ७२ घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ

IMG-20260616-WA0111

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा चलिरहेको श्रमिकहरूको आन्दोलन अन्तर्गत ७२ घण्टे भोक हडतालको दोस्रो चरण आरम्भ भएको छ। मंगलवार बिहान ११ बजे पहिलो चरणको ७२ घण्टे भोक हडताल समापन भए लगतै दोस्रो चरणको भोक हडताल शुरू भएको छ। मंगलवारबाट शुरू भएको भोक हडतालमा हिल प्लान्टेसन इम्प्लोइज युनियन केन्द्रीय कमिटि सहसचिव छेवाङ योञ्जन, केन्द्रीय समिति कोषाध्यक्ष एवं अधिवक्ता अनुपा तामाङ, लङभ्यू युनिट सचिव तनुजा लामा, सदस्यहरू लविन विश्वकर्मा, देविका योञ्जन सहभागी छन्। उल्लेखनीय छ कि पीएफ, ग्राजुएटी तथा अन्य बक्यौता रकमको भुक्तानीको माग गर्दै श्रमिकहरू गत २१ अप्रेल २०२६ देखि क्रमिक अनशनमा बसेका थिए। क्रमिक अनशनको ५०औँ दिन पूरा हुँदासमेत बगानका मालिक गोविन्द गर्ग तथा सम्बन्धित सरकारी निकायबाट श्रमिकहरूको माग बारे ठोस पहल नभएको भन्दै श्रमिकहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै ७२ घण्टे भोक हडताल शुरु गरेका हुन्।
पहिलो चरणका अनशनकारीहरू सुमेन्द्र तामाङ , सुमित देवान, विन्दिया थापा, कविता पाखरिन र छुनु बलले अनशनकारीहरूलाई खदा अर्पण गर्दै भोक हडताल हस्तान्तरण गरेका थिए। अनशन सुरु गर्नु अघि अनशनकारीहरूले आफ्ना माग तथा आन्दोलनप्रतिको प्रतिबद्धतासम्बन्धी लिखित आत्मघोषणा पाठ गरेका थिए। युनियनको सह सचिव छेवाङ योञ्जनले आफूहरूको माग र मुद्दाबारे सम्बोधन गर्दै यो शान्तिप्रिय आन्दोलन उत्तर बंगालका सम्पूर्ण चिया श्रमिकहरूको हक अधिकारका निम्ति रहेको बताए। उनले युवा विद्यार्थी सबैलाई यस आन्दोलनमा सहभागी भइदिने अनुरोध गरे। यता युनिट सचिव तनुजा लामाले आगामी १९ जुनमा हुने भनिएको बैठकमा मालिक गोविन्द गर्गले पीएफको रकम लिएर आउनु पर्ने चुनौती दिइन्। उनले भनिन् ” जबसम्म पीएफको पैसा एकाउण्टम जम्मा हुँदैन तबसम्म आन्दोलन जारी रहने बताइन्।

About Author

Advertisement