लङभ्यू चिया बगानका श्रमिकहरूको आन्दोलन ८०औँ दिनमा, युवा–विद्यार्थीद्वारा हस्ताक्षर अभियान जारी

IMG-20260712-WA0100

सिलगढी: खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको ७२ घण्टे रिले अनशन तथा न्यायको आन्दोलन आज ८०औँ दिनमा प्रवेश गरेको छ। श्रमिकहरूले लामो समयदेखि बाँकी रहेको वैधानिक तथा आर्थिक सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलन जारी राखेका छन्।
श्रमिकहरूका अनुसार बगान व्यवस्थापनले करिब १२ करोड रुपैयाँ भविष्य निधि (पीएफ), ₹८३,३१,४६८ ग्रयाचुटी, ₹१९,६१,१७१ लीव ट्रैवल अलाउंस (एलटीए) तथा चार महिनाको तलब र चार पन्ध्रको ज्याला हालसम्म भुक्तानी गरेको छैन। श्रमिकहरूले तत्काल सम्पूर्ण बक्यौता भुक्तानी गरी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय र बगान मालिक गोविन्द गर्गसमक्ष माग गरेका छन्।
यसैबीच आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युवा तथा विद्यार्थीहरूले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। अभियानअन्तर्गत आज दूधिया हाटमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ। यसअघि खर्साङ रेलवे स्टेशन, मिरिक बजार, गाडीधुरा बजार तथा बाग्राकोटमा पनि हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकहरूले जनाएका छन्।

आन्दोलनकारीहरूले श्रमिकहरूको न्यायपूर्ण माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन्। साथै, विभिन्न सामाजिक संघ–संस्था, युवा, विद्यार्थी तथा सर्वसाधारणबाट आन्दोलनप्रति निरन्तर समर्थन बढ्दै गएको पनि उनीहरूले बताएका छन्।

About Author

Advertisement