(लघुकथा)                   टिप्पणी

00-1-Tippanii

 हिरनमयी आचार्य शर्मा, गुवाहाटी, असम

श्याम र उनका बुबा दुवै अत्यन्त हर्षित हुँदै घर फर्किएर आउन तयार भए। काठमाडौँदेखि भारतसम्मको निकै लामो यात्रा रोमाञ्चक हुने आशामा उनीहरू रमाउन लागे। पहिला पशुपतिको दर्शन छोरालाई गराएर त्यहाँका हरेक मन्दिरको दर्शन गरे। १६ वर्षको छोराको उत्साह र खुशीमा सहभागी हुँदै उनीहरू एनजेपी रेल स्टेसनमबाट रेलमा चढेर असमको आफ्नो घरतिर लागे।

श्यामले  रेल लामो हुन्छ अरे भन्ने सुनेको थियो। तर कस्तो हुन्छ उसलाई थाहा थिएन। पहाडी क्षेत्रको रमाइलो प्राकृतिक सौन्दर्य उपभोग गरेर आएका उसका आँखा अब रेल लाइनको छेउको सौन्दर्य उपभोग गर्न लागे। 

हेर्नोस् बाबा! ती रुखहरू पछि कुदेका छन्! हामी अघि बढ्दै छौँ, यिनीहरूलाई पछि छोडेर होइन र?  ऊ निकै हाँस्दै हाँस्दै कुरा गरिरहेको थियो। बाबु पनि हँसिलो मुखले छोराका कुराहरूसँग सम्बन्धित उत्तर दिँदै थिए। छेउमा बस्ने मानिसहरू अचम्मित भएका थिए!

यति ठूलो केटोको बालापन देखेर। एउटीले भनिहालिन् , ‘महाशय हजुरको छोरो मानसिक बिमारी भए जस्तो लाग्यो। उसलाई किन राम्रो ट्रिटमेन्ट गर्नु हुन्न?’

छोराका बुबाले भने, ‘ट्रिटमेन्ट गरेर लिएर आएको हुँ।  १६ वर्षपछि यसले पृथ्वीको रूप देख्दैछ आँखा लगाएरl’

सबै छक्क परेर छोरातिर हेर्न लागे। केही नजानी अर्काको  बारे टिप्पणी गरेर ती महिला निकै लज्जित भइन्।

About Author

Advertisement