रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको अन्तिम म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको म्याचमा एनएचपीसी-ले नवीन संघ, बेतगेड़ाविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। निर्धारित समयमा नवीन संघबाट मार्टिनले सातौं र एनएचपीसी-बाट अभिषेक लेप्चाले २६औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









