सोनादा: रेडियो सलेसियन ९०.८ एफएमद्वारा यसचोटि केही फरक ढंगमा विश्व कविता दिवस पालन गरियो। वर्तमानमा विभिन्न कारणले गाउँदेखि पलायन हुँदै गइरहेका युवाहरुलाई आह्वान गर्दै “एक कविता दस कवि” को अभियान चलाएर गाउँलाई तिम्रो खाँचो छ´शीर्षकमा पहाडका दसजना कविहरुद्वारा चार लाइनको कविता रचेर एउटा लामो कविता सिर्जना गरिएको रेडियो सलेसियनका कार्यक्रम निर्देशक समीर छेत्रीले जानकारी दिएका छन्। उनीअनुसार सामाजिक अवधारणामाथि केन्द्रित रेडियो सलेसियनको अभियान साकार भएको छ। दसजना कविहरुद्वारा रचिएको चार-चार लाइन कविता जोडदा एउटा लामो अनि उत्कृष्ट कविता सिर्जना भएको छ। ती पहाडका कविहरुमा विष्णुकुमार बराइली, प्रभातचिसो राई, प्रणय शंकर, मनोहर शर्मा अभिनाश, अजितवियोगी, सुमित्र अविरल, सन्ध्या आचार्य, ग्रेसी राई, सबिता संकल्प अनि योगिता राई सामेल थिए।









