मस्को: रूसले भारतलाई आफ्नो सबैभन्दा अत्याधुनिक एवं शक्तिशाली ‘एस-५००’ वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) को प्रविधि हस्तान्तरण तथा संयुक्त उत्पादनका लागि नयाँ प्रस्ताव अघि सारेको छ।
रूसी रक्षा स्रोतलाई उद्धृत गर्दै सार्वजनिक प्रतिवेदन अनुसार, भारतले थप ५ वटा ‘एस-४००’ मिसाइल प्रणाली खरिद गरेमा रूस अत्याधुनिक ‘एस-५००’ को प्रविधि हस्तान्तरण (टेक्नोलोजी ट्रान्सफर) र भारतमै संयुक्त वा स्थानीय उत्पादन (लोकल प्रोडक्सन) का लागि तयार भएको हो। रूसले अहिलेसम्म कुनै पनि देशलाई एस-५०० प्रणाली बिक्री गरेको छैन र यो विशेष प्रस्ताव भारतका लागि मात्र गरिएको जनाइएको छ।
‘५५आर६एम ट्रायम्फेटर-एम’ नामले समेत चिनिने एस-५०० मिसाइल प्रणाली रूसी कम्पनी ‘अल्माज-एन्टेई’ ले विकास गरेको हो। यो प्रणाली ५ देखि ७ किलोमिटर प्रतिसेकेन्डको गतिमा उड्ने हाइपरसोनिक मिसाइल, अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, स्टिल्थ लडाकु विमान र तल्लो अन्तरिक्षीय कक्षा (लो अर्थ अर्बिट) मा रहेका भूउपग्रह (स्याटेलाइट) सम्मलाई ध्वस्त पार्न सक्षम छ। यसको प्रतिक्रिया समय (रियाक्सन टाइम) मात्र ४ सेकेन्ड रहेको छ भने यसले ६०० किलोमिटरसम्मको दूरी र २०० किलोमिटरसम्मको उचाइमा रहेका लक्ष्यहरूलाई निशाना बनाउन सक्छ।
नेपाल-भारत तथा यस क्षेत्रको सैन्य सन्तुलनका दृष्टिले महत्त्वपूर्ण मानिएको यो रक्षा सम्झौता अघि बढेमा भारतको स्वदेशी रक्षा उद्योग र सैन्य क्षमतामा उल्लेख्य वृद्धि हुने विश्लेषण गरिएको छ। भारतले सन् २०१८ को सम्झौता अनुसार हालसम्म एस-४०० का चार वटा स्क्वाड्रन प्राप्त गरिसकेको छ भने अन्तिम तथा पाँचौँ स्क्वाड्रन आगामी जनवरी-फेब्रुअरीभित्र भारत आइपुग्ने जनाइएको छ।





