रूसद्वारा ड्रोन खसाल्ने विशेष गोली विकसित

maxresdefault (1)

एके सिरिजका राइफलबाटै प्रहार गर्न सकिने, क्षमता साढे दुई गुणा बढी भएको दाबी

​नयाँ दिल्ली: रूसको सरकारी रक्षा कम्पनी रोस्टेकले एके सिरिजका राइफलहरूका लागि ‘म्नोगोटोचिये’ नामको नयाँ प्रकृतिको गोली (कारतूस) विकसित गरेको छ। उक्त गोलीले साना ड्रोनहरू (यूएभी) लाई निशाना बनाउने क्षमतालाई पहिलेको तुलनामा साढे दुई गुणासम्म बढाउन सक्ने कम्पनीले दाबी गरेको छ। हाल सेनासँग उपलब्ध एके राइफलहरूबाटै प्रयोग गर्न सकिने यो नयाँ गोली करिब ३०० मिटरसम्मका साना ड्रोनहरू विरुद्ध प्रभावकारी हुने बताइएको छ।
​रोस्टेकका अनुसार ‘म्नोगोटोचिये’ कारतूसको सबैभन्दा ठूलो विशेषता यसको बनोट हो। यो गोली राइफलको ब्यारेलबाट बाहिर निस्किएपछि तीनवटा छुट्टाछुट्टै टुक्रा (प्रोजेक्टाइल) मा विभाजित हुन्छ। यसले गर्दा गोलीको फैलावटको दायरा बढ्ने र तीव्र गतिमा उडिरहेका साना ड्रोनहरूलाई प्रहार गर्न सक्ने सम्भावना पनि धेरै रहन्छ। यो प्रविधिका लागि सेनाले नयाँ राइफल खरिद गर्नु नपर्ने र पहिलेदेखि नै रूसी हतियारहरूमा प्रयोग हुँदै आएका ५.४५×३९ मिमी र ७.६२×५४ मिमीका कारतूस केसहरूमा नै यसलाई फिट गर्न सकिने गरी तयार पारिएको छ, जसका कारण सैनिकहरूले आफ्ना पुराना एके सिरिजका राइफलहरूबाटै आधुनिक ड्रोनको सामना गर्न सक्नेछन्।
​रूस-युक्रेन युद्धलगायत हालैका विभिन्न द्वन्द्वहरूमा साना ड्रोनहरूको प्रयोग तीव्र रूपमा बढेको छ। निगरानी राख्न, आक्रमण गर्न र विस्फोटक पदार्थ ओसार्न यस्ता ड्रोनहरूको ठूलो प्रयोग हुन थालेपछि विश्वका धेरै देशहरूले महँगा एयर डिफेन्स सिस्टमका साथसाथै सामान्य सैनिकले पनि ड्रोन खसाल्न सक्ने सहज हतियारको विकासमा जोड दिन थालेका छन्। हालका लागि रोस्टेकले यस कारतूसको क्षमतालाई लिएर दाबी गरे पनि अहिलेसम्म कुनै स्वतन्त्र वा अन्य निकायले यसको पुष्टि भने गरिसकेका छैनन्। यद्यपि, बढ्दो ड्रोनको खतरालाई ध्यानमा राख्दै परम्परागत हतियारहरूलाई नयाँ प्रविधिसँग ढालेर सैनिक क्षमता बलियो बनाउने प्रयासहरू विश्वभर तीव्र गतिमा अघि बढिरहेको यसले प्रष्ट पार्छ।

About Author

Advertisement