लुकास भाज्क्वेज (९०+२औं मिनेट) को एकमात्र गोलमा १० खेलाडीसहित खेल्दै आएको रियल मड्रिडले स्पेनिस फुटबल लिग ला लिगाको खेलमा अलाभेसलाई १–० ले पराजित गरेको छ। रियल म्याड्रिडले यो सिजन सबै प्रतियोगितामा एक पटक मात्रै हार बेहोरेको छ, तर यस खेलमा गोल गर्ने धेरै अवसरहरू सिर्जना गर्न संघर्ष गरेको छ। पहिलो हाफसम्म दुवै टोलीले गोलका लागि संघर्षरत रहे पनि सफलता भने पाउन सकेनन्। पहिलो हाफ गोलरहित रह्यो।
दोस्रो हाफको ५४ औं मिनेटमा नाचोले रातो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो जसका कारण उनको टोली रियल मड्रिडले बाँकी खेल १० खेलाडीसहित खेल्नुपरेको थियो। तर, खेलको इन्जुरी टाइममा लुकासले टोनी क्रुसको पासमा बक्स भित्रबाट हेडरमार्फत गोल गर्दै टोलीको खाता १–० को अग्रता बनाएका थिए। त्यसपछि टोलीले सोही अन्तरले खेल जित्यो।
खेलपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले यो निकै कठिन खेल भएको बताए। हामीले यो खेल हार्न सक्छौं भन्ने सबैलाई लागेको थियो। दोस्रो हाफमा नाचो पनि मैदानबाहिर गए, तर टोलीले हार मानेन र अन्ततः विजयी भयो। अन्य खेलमा भेरोनाले रियल बेटिससँग १–१ गोलको बराबरी खेलेको थियो। सोसिएडाड र काडिजबीचको खेल गोलरहित बराबरीमा रह्यो। मेयोर्काले ओसासुनालाई ३–१ ले हरायो।











