गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले परम पूज्य गुरुङ टुल्कु नीमा होइसर रिम्पोछे (गुरुदेव) को जन्मदिनको पावन अवसरमा हार्दिक अभिवादन, श्रद्धा तथा उच्च सम्मान प्रकट गर्नुभएको छ।
मुख्यमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा गुरुदेवको तस्बिर साझा गर्दै मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो।
आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्रीले परम पूज्य गुरुदेवले मानवता, अध्यात्म, नैतिक मूल्य, करुणा तथा निःस्वार्थ सेवाभावको मार्गमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभएको छ। उहाँको यस पवित्र कार्य र मार्गदर्शनले असंख्य श्रद्धालु, अनुयायी तथा समाजका विभिन्न वर्गलाई निरन्तर अघि बढ्ने प्रेरणा दिइरहेको मुख्यमन्त्रीले बताउनुभयो।
गुरुदेवको दिव्य उपदेश, करुणामय व्यक्तित्व तथा दूरदर्शी चिन्तनले समाजमा शान्ति, सद्भावना, एकता र आध्यात्मिक चेतनाको ज्योति प्रज्वलित गरिरहेको चर्चा गर्दै मुख्यमन्त्री तामाङले यस पावन अवसरमा उहाँको सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक कामना गर्नुभएको छ। साथै, उहाँको दिव्य मार्गदर्शन एवं अनन्त आशीर्वाद सधैं सबैमाथि रहिरहोस् भन्ने मंगलकामना व्यक्त गर्दै मुख्यमन्त्रीले ‘जय गुरुदेव’ भन्दै आफ्नो सन्देश टुङ्ग्याउनुभएको छ।









