फिनिक्स, अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै असाधारण आर्थिक वाचा गरेका छन्। उनले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभा र सिनेट दुवैमा आफ्नो नियन्त्रण कायम राखेमा प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार अमेरिकी डलर दिने घोषणा गरेका हुन्।
ट्रम्पले उक्त योजनालाई ‘ट्रम्प डिभिडेन्ड’ नाम दिएका छन्। डलासमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले रिपब्लिकन उम्मेदवारहरू विजयी भए अमेरिकी नागरिकले पनि त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरे।
ट्रम्पले भने, “यदि हामी विजयी भयौं भने तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र तपाईंहरूले पाँच हजार डलर पाउनुहुनेछ। यसलाई ट्रम्प डिभिडेन्ड भनिनेछ।”
उनले उक्त रकमलाई कम्पनीहरूले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांशसँग तुलना गर्दै अमेरिकाको आर्थिक शक्ति र सफलताको प्रतिफलका रूपमा प्रस्तुत गरेका छन्।
तर, ट्रम्पको यो घोषणासँगै यसको आर्थिक स्रोत, कार्यान्वयन र कानुनी प्रक्रियाबारे गम्भीर प्रश्न उठेका छन्। प्रत्येक वयस्कलाई पाँच हजार डलर वितरण गर्नुपर्ने अवस्थामा अमेरिकी सरकारमाथि एक हजार अर्ब डलरभन्दा बढीको आर्थिक भार पर्न सक्ने अनुमान गरिएको छ। यस्तो ठूलो रकम वितरण गर्न अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्नेछ।
ट्रम्पको घोषणापछि करिब एक घण्टामै उपराष्ट्रपति जेडी भेन्सले योजनाका केही पक्ष स्पष्ट पार्ने प्रयास गरेका थिए। उनका अनुसार प्रस्तावित रकम सबै अमेरिकी नागरिकलाई समान रूपमा वितरण गरिने नहुन सक्छ। विशेषगरी, उच्च आय भएका वा धनी अमेरिकीहरूलाई यस योजनाबाट बाहिर राखिने संकेत उनले दिएका छन्।
भेन्सले सम्भावित रूपमा यो रकम अमेरिकाले विभिन्न देशबाट आयातमा लगाएको ट्यारिफ अर्थात् भन्सार शुल्कबाट प्राप्त राजस्व मार्फत जुटाउन सकिने संकेतसमेत दिएका छन्।
यद्यपि, ट्यारिफबाट मात्रै यति ठूलो रकम जुटाउन पर्याप्त राजस्व उपलब्ध हुन्छ कि हुँदैन भन्ने विषयमा पनि प्रश्न उठेको छ। त्यसैले ट्रम्पको ‘ट्रम्प डिभिडेन्ड’ योजना आगामी मध्यावधि निर्वाचनमा आकर्षक राजनीतिक नाराका रूपमा प्रस्तुत भए पनि यसको वास्तविक कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोत, कांग्रेसको स्वीकृति र अन्य कानुनी प्रक्रियाबारे अझै स्पष्टता आउन बाँकी छ।





