रिनाकमा चिया कविताको जिल्लामा कविता प्रकरण-२

IMG-20230909-WA0426.jpg

गान्तोक: चिया कविता, सिक्किमको आयोजनमा पाकिम जिल्ला प्रशासन केन्द्रको सहयोगमा आयोजन हुँदै आएको जिल्लामा कविता कार्यक्रमको दोस्रो श्रृङ्खला शुक्रबार रिनाक कलेज परिसरमा भव्यताको साथमा सम्पन्न भयो।
सर्कल क्याफेमा आयोजित कार्यक्रममा कवि तथा जिल्लापाल टासी छोपेल, कवि प्रवीण राई जुमेली, कवि अमर बानियाँ लोहोरो, कवि सुधा एम राई, कवि डिल्ली प्रसाद अधिकारी, अम्बर लाछिकाठीको विशेष उपस्थिति रहेको थियो।
जिल्लामा कविता कार्यक्रममा पर्यवेक्षकको रूपमा नरबादुर भण्डारी डिग्री कलेजका प्राध्यपक डॉ. टेक बहादुर छेत्रीको उपस्थिति रहेको थियो। रिनाक कलेज, नरबादुर भण्डारी डिग्री कलेज, सिक्किम सिक्किम विश्वविद्यालय, बियाड युवा साहित्य संस्थान र दार्जीलिङका ३१ जना कविले कविता वाचन गरेका थिए।

उनले अहिले लेखिँदै गरेको कविताको विषयमा पर्यवेक्षकीय मन्तव्य राखे भने आज पठित कविताहरूमाथि पनि टिप्पणी गरेका थिए। उनले विद्यार्थी कविहरूलाई कविता लेखनको धार समात्ने तरिका र चल्ती लेखन शैलीबारे पनि अवगत गराए।
तीन तरेलीका कविहरूको उपस्थिति रहेको यो कार्यक्रम चिया कविता सिक्किमले आयोजन गर्दै आएको अनौपचारिक कार्यक्रमहरूमा विशेष भव्यताको साथ सम्पन्न भएको थियो।
कार्यक्रममा कवि टासी छोपेलले स्वागत गर्दै जिल्लामा विभिन्न ठाउँमा यसप्रकारको कार्यक्रम आयोजन गर्नुको उद्देश्य स्थानीय प्रतिभाहरूलाई मूल धारका साहित्यकारहरूसित एकाकार गराएर प्रोत्साहित गर्नु रहेको बताए। चिया कविताले गर्दै आएको परम्परागत ढाँचा बाहिरको कार्यक्रमलाई जिल्लाको अरू ठाउँमा पनि आयोजन गर्ने जिल्ला प्रशासनको सोच रहेको बताए।
कार्यक्रममा रिनाक सरकारी महाविद्यालयका विद्यार्थी, मामरिङ विद्यालयका विद्यार्थी, बियाड़ युवा साहित्यक संस्थाका कविहरू लगायत गान्तोकबाट गएका कविहरूले कविता सुनाए। यसैक्रममा राष्ट्रिय कविता प्रतियोगिता २०२३ के प्रथम उपबिजेता सुरज शर्मा, राज्यस्तरीय विद्यार्थी कविता प्रतियोगिता २०२३ का विजेता सबिना राईले कविता सुनाएका थिए।
कार्यक्रममा ३१ जना कविहरूले कविता वाचन गरेका थिए। जसमा कवि सुधा एम राई, मणिका शर्मा, दावा योञ्जन, नरबाहादुर घिमिरे, युवा बराल, पवन बाहुन, प्रितम दुलाल, जगन दाहाल, रेखा शर्मा, पुजा शर्मा, डिल्ली प्रसाद अधिकारी, टासी छोपेल, भीम रावत, दीपा राई, निर कमल दाहाल, प्रवीण खालिङ, पवल लेप्चा, अञ्जना शर्मा, अनिता प्रधान, अनुजा छेत्री, मलिका काफ्ले, सारदा बस्नेत, आकाश प्रधान, मिणा अधिकारी, प्रभात बस्नेत, सुमिरन शर्मा, प्रभाष प्रधानले नेपाली र अङ्ग्रेजी भाषाका कविता सुनाएका थिए। यसैगरि अनुवाद कविता पनि पठन गरिएको थियो।
चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको जिल्लामा कविता कार्यक्रममा वण्डरिङ सोलका संस्थापक प्रणय खतिवडा र उनका सदस्य दलले स्थानीय आयोजकको भूमिका निर्वाह गरेका थिए।

About Author

Advertisement