हारिसकेको म्याच जित्यो केकेआर-ले
९ अप्रेलः रिंकु सिंहको विध्वंशी ब्याटिंगको सहायताले आईपीएल २०२३-को रोमाञ्चक म्याचमा कलकत्ता नाइट राइडर्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै टाइटन्सले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो। जवाफमा लक्ष्यलाई खेदो गर्दै केकेआर-लाई अन्तिम ओभरमा २९ रनको आवश्यकता थियो अनि त्यस समय क्रीजमा रिंकुसँग उमेश यादव रहेका थिए। त्यस समय टाइटन्सको जीत तय मानिएको थियो तर रिंकुले विपक्षी बलर यश दयालको अन्तिम ५ बलमा लगातार ५ छक्का लगाएर केकेआर-लाई यादगार जीत दिलाए। यसरी केकेआर-ले ७ विकेटको नोक्सानमा २०७ रन बनाएर जीत हासिल गऱ्यो।

रिंकुले २१ बलमा ६ वटा छक्का र एउटा चौकाको साथ अविजित ४८ रन बनाए। उनलाई प्लेयर अव् द म्याच चयन गरियो। उमेश यादवले अविजित ५ रन बनाए। यी दुई बाहेक केकेआर-बाट भेंकटेश अय्यरले ४० बलमा ८३ (८ वटा चौका र ५ वटा छक्का) र कप्तान नीतिश राणाले २९ बलमा ४५ रन (४ वटा चौका र ३ वटा छक्का) बनाए।

म्याचमा हार्दिक पाण्ड्याको अनुपस्थितिमा कप्तानी गर्ने टाइटन्सका राशिद खानले ह्याट्रिक गरे पनि टीमलाई जिताउन सकेनन्। उनले लगातार तीन बलमा आन्द्रे रसेल, सुनिल नारेन र शार्दुल ठाकुरलाई आउट गरे। यसअघि पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सबाट विजय शंकरले २४ बलमा ५ वटा छक्का र ४ वटा चौकाको साथ अविजित ६३ रन बनाए। यसबाहेक साई सुदर्शनले ५३ र शुभमन गिलले ३९ रनको योगदान दिए। केकेआर-का बलरहरूमा सुनिल नारेनले ३ विकेट लिए।










