नयाँ दिल्ली: राहुल गान्धीको नेतृत्वमा कांग्रेसको भारत जोडो यात्रा कश्मीरमा चलिरहेको छ। यो सोमबार समाप्त हुनेछ। यसअघि आइतबार दिउँसो राहुल गान्धीले श्रीनगरको लालचोकमा तिरंगा फहराए। भारत जोडो यात्राको बिहानको चरणमा हिँडेर राहुल गान्धी दिउँसो १२ बजे लालचोक पुगे। उनीसँगै उनकी बहिनी प्रियंका गान्धी र कांग्रेसका धेरै वरिष्ठ नेताहरू पनि थिए। लालचोकमा तिरंगा फहराउनुअघि कांग्रेस नेताहरूले ‘वन्दे मातरम’ गाए र त्यसपछि राहुल गान्धीले यहाँ तिरंगा फहराए।

लालचोकमा तिरंगा फहराएपछि राहुल गान्धी तुरुन्तै प्रस्थान गरे। यसपछि यहाँ उपस्थित स्थानीय कांग्रेस कार्यकर्ताले हर्षोल्लास मनाए। लालचोकमा उपस्थित हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले समाजमा घृणा बढिरहेको बेला राहुल गान्धीले कन्याकुमारीबाट कश्मीरको यात्रा शुरु गरेको बताए। ‘घृणा छोडो भारत जोडो’ यात्रा मार्फत उनले देशको अखण्डतामा खेलवाड गर्ने कसैलाई कांग्रेसले सहने छैन भन्ने सन्देश दिए।











