काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सदस्यहरूलाई बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिन निर्देशन दिएको छ।
रास्वपा सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार कार्यमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका हुन्। लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित नागरिकहरूको तत्काल उद्धारका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। उनले पार्टीका सदस्यहरूलाई पनि राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
उनले भनेका छन्, “आज बिहान बूढीगण्डकी नदीमा अचानक आएको बाढीका कारण गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुगेको छ। न्याक्चेत–फिलिम र धादिङ–गोरखालाई जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको छ। यो खबरले मलाई अत्यन्त दुःखी बनाएको छ।”
लामिछानेले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नसमेत आग्रह गरेका छन्।





