मंगन: उत्तर सिक्किमको मुख्यालय मंगनमा पनि राष्ट्रीय खेलकूद दिवस धुमधामसित सम्पन्न गरियो। मुख्यमन्त्री वान माइल म्याराथनसितै शुरु भएको प्रतियोगितात्मक कार्यक्रममा विद्यार्थी तथा युवाहरुको सक्रिय सहभागिता थियो। यो कार्यक्रम राज्य सरकारको खेलकूद तथा युवा मामिला विभागले आयोजन गरेको हो। विशेष, हक्की लिजेन्ड मेजर ध्यान चन्दको जन्मजयन्तीको अवसरमा भारत सरकारले राष्ट्रिय खेलकूद दिवसको रुपमा मनाउने घोषणा गरेको छ। यसअन्तर्गत विद्यार्थीहरु र युवाहरुलाई खेल अनि सिर्जनात्मक गतिविधिमा संलग्न गराउऩ विभिन्न खेल गतिविधिहरु सञ्चालन गर्दै आएको छ। मंगन सिनियर सेकेण्डरी स्कूलका शिक्षक र खेलकूद तथा युवा मामिला विभागका कर्मचारीहरुबीच फुटसल प्रदर्शनी खेल र म्युजिकल चेयर प्रदर्शनी भएको थियो। कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले सहभागीहरुलाई फिट इन्डिया तथा अन्य खेल गतिविधिमाथि प्रतिज्ञा गराएका थिए। कार्यक्रमको अर्को चरणमा उपस्थित युवाहरुलाई जुम्बाबाट हुने मानसिक अनि शारीरिक लाभबारे पनि जानकारी दिइएको थियो। खेलकूद एवं युवा मामिला विभागीय सहनिर्देशक जेनिम लेप्चाले युवाहरुलाई शारीरिक क्रियाकलापमा संलग्न भएर स्वस्थ जीवनशैली अप्नाउने आग्रह गरिन्। यसअवसरमा मंगन सिनियर सेकम्डरी स्कूल, लिटल फ्लावर स्कूल र नर्थ सिक्किम एकाडेमीका विद्यार्थीहरुले प्रशिक्षक फूर्बा शेर्पाको निर्देशनमा सबजुनियर ताई क्वान्डो प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा सामेल विद्यार्थीहरुलाई जिल्लापालको बाहुलीबाट सम्मान गरिएको तियो। मुख्यमन्त्री वान माइल म्याराथनमा छात्र समूहबाट मंगन सिनियर सेकेण्डी स्कूलका स्यामुएल गुरुङ र मंगन कन्या उच्च माध्यमिक विद्यालयकी तारा राई विजयी भएका थिए। बिजेता र उपविजेतालाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो।









