प्रधानमन्त्री मोदी र प्रधानन्यायाधीश सूर्यकान्तसहित विशिष्ट व्यक्तित्वको सहभागिता
नयाँ दिल्ली: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति भवनमा शनिवार परम्परागत ‘एट होम’ जलपान समारोह (रिसेप्शन) आयोजना गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूद्वारा आयोजित उक्त औपचारिक समारोहमा देशका शीर्ष राजनीतिक नेतृत्व, कूटनीतिज्ञ र समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

’वंदे मातरम’ र राष्ट्रिय गानको धुनसँगै शुभारम्भ भएको समारोहमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वराष्ट्रपति रामनाथ कोविन्द र पूर्वउपराष्ट्रपति एम. वेन्कैया नायडू सहभागी थिए। त्यसैगरी, भारतका प्रधानन्यायाधीश (सीजेआई) सूर्यकान्त, लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंह, वैदेशिक मामिला मन्त्री एस. जयशंकर र केन्द्रीय मन्त्री अश्विनी वैष्णवको पनि उपस्थिति थियो। समारोहमा प्यारा-क्रिकेटर आमिर हुसेन लोनलगायत खेल, कला, साहित्य र सामाजिक क्षेत्रका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए।
यसअघि, राष्ट्रपति मुर्मूले राष्ट्रिय युद्ध स्मारक पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल एनएस राजा सुब्रमणि, थलसेना प्रमुख जनरल धीरज सेठ, नौसेना प्रमुख एडमिरल कृष्णा स्वामीनाथन र वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले पनि स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।
यसैबीच, लाल किल्लाको प्राचीरबाट देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसपटक स्वतन्त्रता दिवसको समारोहमा ‘वंदे मातरम’ को गायन ऐतिहासिक बनेको बताएका छन्। उनले ‘हरेक दिलमा वंदे मातरम र हरेक घरमा तिरंगा’ रहेको उल्लेख गर्दै देशभक्तिको लहर देशभर फैलिएको धारणा राखेका थिए।









