गानताेक: वाणिज्य तथा उद्योग विभाग, सिक्किम सरकारले सिक्किम उद्यमशीलता र आर्थिक विकास (एसईईडी) सेलसँगको सहकार्यमा र्याम्प योजना अन्तर्गत अनलाइन विवाद समाधान (ओडीआर) सम्बन्धी एक सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) का सरोकारवालाहरूलाई डिजिटल विवाद समाधान संयन्त्रबारे शिक्षित गराउनु थियो।
यस कार्यक्रमको मुख्य अतिथि वाणिज्य तथा उद्योग विभाग, सिक्किम सरकारकी सचिव श्रीमती कर्मा डी. युत्सो हुनुहुन्थ्यो। कार्यशालालाई वाणिज्य तथा उद्योग विभागका एमएसएमई निर्देशक श्री रविकुमार (आईएफएस), सिक्किम उद्यमशीलता र आर्थिक विकासका अध्यक्ष राज लामा, र मुख्यमन्त्रीका ओएसडी रेवाज क्षेत्रीले सम्बोधन गर्नुभएको थियो।
कार्यशालामा तीनवटा प्रस्तुतीकरणहरू राखिएका थिए, जसमा ओडीआरको कार्यप्रणाली, प्रक्रिया र फाइदाहरूका बारेमा विस्तृत रूपमा व्याख्या गरिएको थियो।










