गान्तोक: राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा जारी प्रतिष्ठित ‘४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप २०२६’ फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार शिलङ लाजोङ एफसी र सिक्किम आक्रमण एससी आमनेसामने हुने भएका छन्।
सिक्किम फुटबल एसोसिएसन (एसएफए) को आयोजनामा गत अक्टोबर ५ देखि सुरु भएको प्रतियोगिताको शुक्रबार साँझ भव्य समारोहका बीच समापन हुँदै छ। फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।
इतिहास रच्ने दाउमा दुवै टोली
उपाधि भिडन्तअघि बिहीबार फुटबल हाउसमा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षक तथा कप्तानहरूले उपाधि जित्दै इतिहास रच्ने दाबी गरेका छन्।
शिलङ लाजोङ एफसीका मुख्य प्रशिक्षक वीरेन्द्र थापाले लामो समयको अन्तरालपछि टोलीले प्रतियोगितामा पुनरागमन गरेको र यसपटक फाइनल पुग्न पाउँदा खुसी लागेको बताए। “यसअघि सेमिफाइनलबाटै बाहिरिनु परेको थियो। यसपटक हाम्रासामु ४२औँ संस्करणको स्वर्ण कप जितेर इतिहास रच्ने सुनौलो अवसर छ,” प्रशिक्षक थापाले भने, “दर्शकहरूबाट सोचेभन्दा राम्रो समर्थन पाइरहेका छौँ। फाइनलमा पनि भारी सङ्ख्यामा उपस्थित भई टोलीको मनोबल उच्च बनाइदिनुहुन आग्रह गर्दछु।”
अर्कोतर्फ, सिक्किम आक्रमण एससीका मुख्य प्रशिक्षक निकोलश राईले राज्यपाल स्वर्ण कपमा पटक-पटक सहभागिता जनाए पनि टोली पहिलोपटक फाइनल प्रवेश गरेको जानकारी दिए। “भारतीय फुटबलमा राज्यपाल स्वर्ण कपको छुट्टै गरिमा र पहिचान छ,” प्रशिक्षक राईले भने, “भर्खरै सम्पन्न लिग खेलेका ८० प्रतिशत खेलाडीहरू नै टोलीमा रहेकाले हाम्रो तालमेल निकै राम्रो छ। लिग लगत्तै यो प्रतियोगिता खेल्न पाउनु हाम्रा लागि सकारात्मक पक्ष बन्यो। हामी स्वर्ण कप चुम्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछौँ।”
सेमिफाइनलको यात्रा
फाइनल प्रवेश गर्ने क्रममा शिलङ लाजोङ एफसीले रोमाञ्चक सेमिफाइनल भिडन्तमा सिङलिङ एससीलाई पराजित गरेको थियो। यस्तै, घरेलु टोली सिक्किम आक्रमण एससीले साविकको दाबेदार गोकुलम एफसी केरलालाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो।
शुक्रबार हुने फाइनल खेल तथा समापन समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहने आयोजकले जनाएको छ।





