गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राजधानीस्थित नामग्याल इन्स्टिच्युट अफ् टिबेटोलोजीको तत्वावधानमा आयोजित ‘एलेक्जेन्ड्रा डेविड-नील: ए जर्नी इन्टू बौद्धिज्म’ शीर्षक प्रदर्शनीको उद्घाटन गरेका छन्।
राज्यपालले प्रदर्शनी अवलोकन गर्दै फ्रान्सेली यात्री तथा बौद्ध विदुषी एलेक्जेन्ड्रा डेविड-नीलको जीवन र योगदानबारे जानकारी लिए। प्रदर्शनीमा सन् १९१२ देखि १९१६ सम्मको उनको सिक्किम बसाइ र यात्रालाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यपाल माथुरले एलेक्जेन्ड्रा डेविड-नीलले आफ्ना लेखनमार्फत बौद्ध धर्मलाई पश्चिमी जगतसम्म पुर्याएको उल्लेखनीय योगदानको प्रशंसा गरे। उनले सिक्किम बसाइका क्रममा उनले राजपरिवारदेखि सर्वसाधारणसम्म सबैसँग संवाद स्थापित गर्दै बौद्ध दर्शन, साधना र तिब्बती भाषामा गहिरो ज्ञान हासिल गरेको बताए।
राज्यपालले केन्द्रिय बजेटमार्फत उत्तर–पूर्व भारतका लागि घोषणा गरिएको बौद्ध सर्किट विकास योजनाको स्वागत गर्दै यसले क्षेत्रको सांस्कृतिक तथा आध्यात्मिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
उनले प्रदर्शनीलाई एलेक्जेन्ड्रा डेविड-नीलप्रति श्रद्धाञ्जली मात्र नभई बौद्धिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्रमा योगदान दिने महिलाहरूको सम्मानको रूपमा समेत व्याख्या गरे। साथै, यसले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा भारतका लागि फ्रान्सका राजदूत डा. थियरी माथू, बेल्जियमका राजदूत डिडिएर वान्डरहासेल्ट, स्विट्जरल्याण्डकी राजदूत माया तिस्साफी, भूटान राजपरिवारकी आशी केसाङ वाङ्गमो वाङ्गचुक, कोलकातास्थित फ्रान्सका महावाणिज्य दूत थियरी मोरेल, फ्रेन्च इन्स्टिच्युटका निर्देशक ग्रेगर ट्रुमेल, नामग्याल इन्स्टिच्युट अफ् टिबेटोलोजीका निर्देशक डा. पासाङ डी. फेम्पु तथा प्रदर्शनी क्यूरेटर डा. अन्ना बालिकची लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।










