गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज ‘गॉंउमा राज्यपाल’ कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्र नाथाङ ग्राम पञ्चायतमा पर्ने देशको प्रथम गाउॅं भाइब्रेण्ट भिलेज कुपुपको भ्रमण गरे।
यस अवसरमा यहॉंको स्थानीय एक सामुदायिक हलमा एक परिचर्चा एवं संवाद कार्यक्रम आयोजन गरियो। ग्राम पञ्चायत अध्यक्षले राज्यपालको पारम्परिक तरिकाले स्वागत गर्दै गाउॅंको बारेमा विस्तारपूर्वक जानकारी दिए।
भाइब्रेण्ट भिलेजमाथि प्रकाश पार्दै जिल्लापाल तुषार निखारेले अहिलेसम्म यस दिशामा गरिएका कार्यहरूको बारेमा जानकारी गराए। कार्यक्रम अवधि राज्यपालले बीच-बीचमा प्रश्नहरू गरे जसको जवाफमा जिल्लापालले यस कार्यक्रम अन्तर्गत आइरहेका वाधाहरूको बारेमा अवगत गराए। यस क्रममा अतिरिक्त जिल्लापाल सन्दीप झाले पावर पोइन्ट प्रस्तुतिको माध्यमद्वारा भाइब्रेण्ट भिलेज अन्तर्गत गरिएका पहलहरूको बारेमा बताए।
राज्यपाल अन्तरक्रिया सत्रमा स्थानीय गाउॅंवासीहरूसॅंग संवाद गरे। यस अवधि केन्द्रिय योजनाहरूको बारेमा समीक्षा गरियो भने उक्त योजनाहरू गाउॅंमा क्रियान्वित भएको जानकारी पाएपछि राज्यपालले खुशी व्यक्त गरे। यसैगरी, गाउॅंवासीहरूले भाइब्रेण्ट भिलेजसॅंग सम्बन्धित धेरै चुनौती र समस्याहरूबारे राज्यपाललाई अवगत गराए। राज्यपालले पनि ती समस्याहरूलाई सम्बोधित गर्न आफ्नो व्यक्तिगत स्तर र उच्च स्तरमा कुरा पुऱ्याउने आश्वासन दिए।
राज्यपाल माथुरले जल संरक्षणको दिशामा कुपुपमा इन्सुलेटेड वाटर ट्याङ्कको उद्घाटन गरे। यस अतिरिक्त, उनले १३,१०० फीटको उचाईमा स्थित विश्वको सबैभन्दा अग्लो गल्फ कोर्स ‘याक गल्फ कोर्स’ को पनि भ्रमण गरे। उनले नाथाङ गाउॅंमा आगामी परियोजनाहरूको अवलोकन गरे।
कार्यक्रममा राजभवनका अतिरिक्त सचिव खेमराज भट्टराई, विभिन्न विभागका अधिकारीहरू, कर्मचारीहरू, पञ्चायतगण तथा ग्रामवासीहरू उपस्थित रहेको जानकारी राजभवनले विज्ञप्तिमा दिएको छ।











