नाम्ची: राज्यका शहरी विकास एवम् आवास विभाग मन्त्री भोजराज राईले आज खाद्य एवम् नागरिक आपूर्ति विभागका प्रमुखहरूलाई लिएर एक समन्वय बैठक आयोजना गरे। बैठकमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङख् अतिरक्ति जिल्लापाल तिरसाङ तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
बैठकमा मन्त्री राईले निरीक्षण सफलतापूर्वक सम्पन्न गराउनको निम्ति विभागका प्रमुखहरूले पुऱ्याएको सहयोगको प्रशंसा गरे। उनले आफ्नो निरीक्षणका मुख्य पक्षहरूमाथि जोड दिए, जसमा पूर्वाधार विकासको माध्यमबाट नाम्ची शहरको विस्तार पनि गान्तोकपछि राज्यको दोस्रो ठूलो शहर बन्न सक्ने विचार व्यक्त गरे। मन्त्रीले यस क्षेत्र र वरपर सरसफाई सुनिश्चित गर्दै ढल निकास र पाइपलाइन प्रणालीको उचित व्यवस्थापन गर्न सम्बन्धित विभागलाई निर्देशन दिए।
उनले जैविक सब्जी बजारलाई किशन मार्केटमा स्थानान्तरण गर्न सुझाउ दिँदै शहरभित्र सरसफाईको व्यवस्था गर्न आग्रह गरे। उनले शहरको सर सफाईको निम्ति स्वयं सहायता समूहलाई छनौट गरिनु पर्ने बताउॅंदै वर्षमा एक लाख रूपियाँ अनुदान प्रदान गरिनुपर्ने प्रस्ताव पनि राखे। उनले समग्र विकासमार्फत नाम्ची शहरलाई जीवन्त र दिगो बनाउने आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै जिल्लाभित्रका विभिन्न योजना र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागलाई आग्रह गरे।
यसअघि मन्त्रीले नाम्ची बजारको संयुक्त निरीक्षण, विभिन्न आयोजनाको मूल्याङ्कन र स्थानीय जनतालाई पर्न सक्ने समस्याको सम्बोधन गरेका थिए। उनले स्थानीय व्यापारी र सरोकारवालाहरूसँग पनि कुराकानी गर्दै व्यापारीहरूले भोग्न परिरहेको समस्यालाई पनि समाधान गर्न पहल गर्ने आश्वासन दिए।










