राजारानीबाट शुरु भयो धिमाल समुदायको मौलिक पर्व जात्री

IMG-20240414-WA0005

झापा, (नेपाल): पूर्वीनेपालको झापा र मोरङ  जिल्लामा रहेका धिमाल जातिको महान पर्व जात्री शुरु भएको छ। धिमाल समुदायले १६ जून (असार २ गते)सम्म जात्री पर्व मनाउँछन्। नयाँ वर्षको आगमनसँगै  जात्री पर्व शुरु हुनेगर्छ। नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङ नगरपालिका भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ। ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ। मोरङको लेटाङ नगरपालिकास्थित भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्नेगर्छ।

प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस, बाली बिरुवा लगाउने बेलामा वर्षात होस, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन्। परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ।

सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस, शोक नपरोस र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको धिमाल जाति विकास केन्द्रका महासचिव मात्रिका धिमालले बताए। असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका कोशी प्रदेशका १०८  वटै टोलमा मनाइने गरिएको छ। जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ। मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ। मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन्।

About Author

Advertisement