राजभाषा कार्यान्वयन समितिको बैठक, एआई र आईटी टूल्ससम्बन्धी प्रशिक्षण

IMG-20260522-WA0086

कोलकाता: नगर राजभाषा कार्यान्वयन समिति (नराकास-उपक्रम २), कोलकाताको कार्यकारी दलको दोस्रो बैठक तथा “हिन्दीमा उपलब्ध एआई एवं आईटी टूल्स” विषयक प्रशिक्षण कार्यक्रम हालै सम्पन्न भएको छ। ब्रेथवेट एन्ड कम्पनी लिमिटेडको संयोजनमा बिहीबार उक्त कार्यक्रम आयोजना गरिएको हो।
​कार्यालयको कामकाजलाई थप सरल, प्रभावकारी एवं गुणस्तरीय बनाउन आधुनिक प्राविधिक उपकरणहरूको प्रयोगलाई बढावा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
​कार्यक्रमको अध्यक्षता ब्रेथवेट एन्ड कम्पनी लिमिटेडका निर्देशक (उत्पादन) संजीव रस्तोगीले गरेका थिए। सो अवसरमा भारत सरकारका उपनिर्देशक (कार्यान्वयन) विचित्रसेन गुप्त विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा ब्रेथवेटका निर्देशक (वित्त) आर. वीरा बाहु, कार्यवाहक निर्देशक (मानव संसाधन) पी. के. मिश्र, नराकासका सदस्य-सचिव अजय शङ्कर मिश्र तथा श्यामा प्रसाद मुखर्जी पोर्टका यातायात प्रबन्धक रविशङ्कर राजहंससहित विभिन्न सदस्य कार्यालयका अधिकारीहरूको सहभागिता थियो।
​भिडियो कन्फरेन्सिङका माध्यमबाट सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा गृह मन्त्रालय, राजभाषा विभाग (पुणे) का संयुक्त निर्देशक राजेन्द्र वर्माले मुख्य वक्ताका रूपमा प्रशिक्षण दिएका थिए। उनले दैनिक कार्यालयीन कार्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आईटी टूल्सको व्यावहारिक प्रयोगबारे विस्तृत जानकारी गराए।
​कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रस्तोगीले वर्तमान सूचना प्रविधिको युगमा हिन्दी भाषालाई प्राविधिक रूपमा सशक्त बनाउनु समयको माग भएको उल्लेख गरे। त्यस्तै विशिष्ट अतिथि गुप्तले राजभाषाको प्रचार-प्रसारमा आधुनिक टूल्सहरू अत्यन्तै उपयोगी साबित हुने धारणा राखे।
​अजय शङ्कर मिश्र र दीपक कुमार ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा निर्देशक (वित्त) आर. वीरा बाहुले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement