राजधानीमा दुइ दिवसीय राष्ट्रिय खेलकूद दिवसको समापन

IMG-20240829-WA0231

गान्तोक: सरकारको ग्रामीण विकास तथा सहकारिता विभागीय मन्त्री अरुण उप्रेतीले आज दुई दिवसीय राज्यस्तरीय राष्ट्रिय खेलकूद दिवसको समापन कार्यक्रममा भाग लिए। मुख्य अतिथिका रुपमा उपस्थित मन्त्री उप्रेतीले युवाहरुलाई खेलकूदप्रति गम्भीर बन्न प्रोत्साहित गरे। पाल्जोर स्टेडियममा सम्पन्न समापन कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत विशिष्ट अतिथि थिए। हक्की आइकन मेजर ध्यान चन्दको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष राष्ट्रिय खेलकूद दिवस पालन गरिन्छ। जसमा विद्यार्थीहरु र युवा जमातको बाक्लो सहभागिता हुँदै आएको छ। राज्यस्तरीय दुइ दिवसीय खेलकुद प्रतियोगिता खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित गरिएको हो। यस वर्षको खेलकूद दिवसको नारा फिटनेस र स्वस्थ जीवनका लागि खेलौँ – रहेको थियो। मुख्यमन्त्री वान माइल म्याराथन प्रतियोगितालाई विभिन्न वर्गमा विभाजन गरिएको थियो। मन्त्री उप्रेतीले झण्डा देखाएर उक्त प्रतियोगिताको शुरु गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले खेल प्रदर्शनी गरेका थिए। त्यसैगरी महिला र पुरुष वर्गमा फुटबल प्रतियोगिता पनि सामेल गरिएको थियो। आजको पहिलो चरणको कार्यक्रममा शहरी विकास मन्त्री भोजराज राई, गान्तोक क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपा, गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री लगायत आयोजक खेलकूद एवं युवा मामिला विभागका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement