योग साधनको निम्ति सिक्किम सिक्किमको वातावरण अनुकूल रहेको मुख्यमन्त्रीको भनाइ
गान्तोक। आज राजधानीको इन्चे गुम्बा परिसरमा आठौं अन्तरराष्ट्रिय योगा दिवस पालन गरियो। आजको यस अवसरमा मुख्य अतिथिको रुपमा राज्यका राज्यपाल गंगाप्रसाद मुख्य अतिथिको रुपमा उपस्थित थिए भने केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्यमन्त्री अश्विनी कुमार चौबे अनि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। मानवताको निम्ति योगा थिममा आयोजित आठौं अन्तरराष्ट्रिय योगा दिवसको कार्यक्रममा सबै मन्त्रीगण र विधायकगणले पनि सहभागिता जनाएका थिए। कार्यक्रमलाई कनेफरेन्सिङमार्फत देशका प्रधामन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्यमन्त्री अश्विनी कुमार चौबेले सिक्किम राज्यले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा धेरै विकास गरेको बताउँदै योगका महत्वबारे आफ्नो विचार राखे। भारतलाई योगगुरुको रुपमा पुर्नास्थापना गर्न देशका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो भूमिका निर्वाह गरेको साथै योगालाई विश्वभरि प्रचार प्रसार गर्नको निम्ति प्रधानमन्त्रीले गरेको कार्यको पनि उनले प्रशंसा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले योगाले हामीलाई स्वस्थ राख्न ठूलो सहयोग पुऱ्याउने बताउँदै राज्यवासीले सँधै योग गर्ने आह्वान गरे। प्रकृतिको सुन्दर काखमा अवस्थित सिक्किम राज्य योग साधनको निम्ति अतिनै अनूकुल राज्य रहेको बताउँदै मुख्यमन्त्री तामाङले योग साधकहरूलाई सिक्किम राज्यमा आउन आह्वान पनि गरे। योगालाई विश्वभरमा फेरि जागरूक गराउनको निम्ति देशका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अमुल्य योगदानको निम्ति सम्पूर्ण राज्यवासीको तर्फबाट प्रधानमन्त्री प्रति आभार प्रकट गरे। महामारीको समयमा योगाले सबैलाई स्वास्थ रहन धेरै सहयोग पुऱ्याएको हुँदा योग सबैको निम्ति धेरै उपयोगी साधन सिद्ध भएको पनि मुख्यमन्त्री प्रेमसिंह तामाङले बताए। आठौं अन्तरराष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन सिक्किम आएका केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्यमन्त्री अश्विनी कुमार चौबेलाई पनि उनले सबै सिक्किमवासीको तर्फबाट आभार व्यक्त गरे। कार्यक्रममा राज्यपाल गंगाप्रसादले पनि योगाको उपयोगीताबारे विस्तृत रुपमा आफ्नो कुरा राखे। कार्यक्रमलाई राज्यका स्वास्थ्यमन्त्री एसमके शर्माले पनि सम्बोधन गरेका थिए।










