राजकोट: गुजरातको राजकोटस्थित टीआरपी सपिङ मलको गेमिङ जोनमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। मृत्यु हुनेमा १० बालबालिका रहेका छन्। गुजरात उच्च अदालतले यस भयानक घटनाको आफैले संज्ञान लिएर भन्यो कि पहिलो नजरमा यो ‘मानव निर्मित प्रकोप’ जस्तो देखिन्छ। विशेष न्यायाधीशको बेन्च सोमबार गुजरात उच्च अदालतमा बस्नेछ र यस मुद्दामा भएका गल्ती र कारबाहीहरूको जवाफ खोज्नेछ। यो गेमिङ जोनमा शनिबारबाट ९९ रुपियाँको वीकेन्ड स्किम शुरु भएको जानकारी प्राप्त भएको छ। यस योजनाको कारण, खेल क्षेत्रमा ठूलो संख्यामा बालबालिका सहित धेरै मानिसहरू उपस्थित थिए। तर, प्रवेश र निकासका लागि ६ देखि ७ फिटको एउटा मात्र गेट थियो। यस्तो अवस्थामा आगलागी हुँदा धेरैले समयमै भाग्न सकेनन्।
यसैबीच, यो आगलागी पछि, एक सम्झौता पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। टीआरपी गेम जोनमा आउने मानिसहरूले एउटा फारम भर्नुपर्ने कुरा थाहा भएको छ जसमा उनीहरूलाई केही भएमा गेम जोन जिम्मेवार हुनेछैन भन्ने लेखिएको थियो। कुनै पनि दुर्घटना वा क्षतिको लागि व्यक्ति आफै जिम्मेवार हुनेछ। गेम जोन अपरेटर गेम जिनमा हुँदा कुनै पनि व्यक्तिको मृत्यु वा चोटको लागि उत्तरदायी हुनेछैन। यो फारममा हस्ताक्षर गरेपछि मात्र कसैलाई भित्र जान दिइयो। शव गम्भीर रुपमा जलेको र पहिचान गर्न गाह्रो भएको पुलिस अधिकारीले बताएका छन्। यसका लागि शव र मृतकका आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ। राजकोटका पुलिस आयुक्त राजु भार्गवले टीआरपी गेम जोन सञ्चालन गर्ने रेसवे इन्टरप्राइजेजका साझेदार युवराज सिंह सोलंकी र त्यसका प्रबन्धक नितिन जैनलाई पक्राउ गरिएको बताए। धवल ठक्कर, अशोक सिंह जडेजा, किरीट सिंह जडेजा, प्रकाशचन्द हिरान, युवराज सिंह सोलंकी र राहुल राठौर विरुद्ध मुद्दा दर्ता गरिएको छ।










