राई भाषा शिक्षकहरुको लागि अभिमुखी कार्यक्रम

IMG-20250406-WA0297

गान्तोक: अखिल किराँत राई संघ, सिक्किम केन्द्रीय कार्यकारी समितिको पहलमा आज आसामलिङजेस्थि सिकोनको प्रेक्षागृहमा राई भाषा शिक्षक शिक्षिकावर्गलाई लिएर पाँच दिवसीय अभिमुखी कार्यक्रम शुरू भयो। उद्घाटन कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास विभागकी सल्लाहकार एवं विधायक कला राई मुख्य अतिथिकोरूपमा उपस्थित थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अखिल किराँत राई संघका केन्द्रीय मूल सचिव एवं तिमी चिया बोर्डका अध्यक्ष आरके वालिङले संघले राई समुदायको भाषाको विकासमा अहिलेसम्म गरेको विभिन्न प्रकारको गतिविधिबारे बताए। उनले थप जानकारी गराएअनुसार आजदेखि शुरू भएको पाँच दिवसीय कार्यशाला राई समुदायका भाषिक शिक्षकहरूको निम्ति अत्यन्त आवश्यक रहेको बताउँदै वर्तमान सरकारले राई समुदायको निम्ति धेरै उल्लेखनीय कार्यहरू गर्दै आइरहेको जानकारी गराए। एकेआरएसका पूर्व अध्यक्ष एसके राईले राई समुदायलाई जनजातिको मान्यता दिलाउन वर्तमान सरकारले इमान्दारपूर्वक पहल गरिरहेको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक कला राईले रामनवमी तथा चैते दशैंको शुभकामना व्यक्त गरिन्। उनले धेरै समय पछि भाषा सम्बन्धी कार्यशाला आयोजन गरेकोमा अखिल किराँत राई संघका केन्द्रीय समितिको पहलको प्रशंसा गरिन्। जातिको अस्तित्व बाँच्नमा भाषाको ठूलो भूमिका हुने साथै भाषाको संरक्षण, विकासमा शिक्षक शिक्षिकावर्गको पनि विशेष योगदान हुने बताइन्। यस कार्यशालाको उदघाटन सत्रमा मूल सचिव आरके वालिङले सरकारमा राई समुदायबाट ११ जनालाई भीआइपी पद दिएर सम्मान गरेको उल्लेख गरे।

About Author

Advertisement