रसुवा-नुवाकोट बाढी ताण्डव: ६६९ को मृत्यु, ३०० भन्दा बढी सुरुङमै फसे

IMG-20260829-WA0112

भारतीय एनडीआएफ टोलीसहित उद्धार तीव्र

काठमाडौँ(​नेत्र बिक्रम बिमली): नेपालको रसुवा स्थित भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीले बगाएर ल्याएका शवहरू भारतसँग सीमा जोडिएका जिल्लाहरूसहित नेपालका विभिन्न भूभागमा फेला परेपछि भारत-नेपाल सीमावर्ती क्षेत्रमा समेत उच्च सतर्कता अपनाइएको छ।
​नेपाल प्रहरीले शनिबार जारी गरेको पछिल्लो विवरण अनुसार बाढीको तीव्र बहावले बगाएका शवहरू विभिन्न जिल्लामा पुगेका छन्। जसमध्ये भारतसँग सिमाना जोडिएको चितवनमा सबैभन्दा बढी २४८ र नवलपरासी पूर्वमा १५८ वटा शव फेला परेका छन्। यसैगरी नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव भेटिएको छ।
​सुरुङभित्र ३०० श्रमिक फसेको आशङ्का, एनडीआरएफ र चिनियाँ टोली परिचालन
​बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा भीषण क्षति पुगेको छ। विभिन्न आयोजनामा कार्यरत कम्तीमा ८९८ जना मानिस अझै सम्पर्कविहीन छन्। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ (टनल) भित्र अझै करिब ३०० जना श्रमिक फसेको अनुमान गरिएको छ।

विशेषज्ञ टोली र जटिल उद्धार उपकरणको आवश्यकता महसुस गर्दै नेपाल सरकारले भारत र चीनसँग प्राविधिक सहयोग मागेको थियो। नेपालको अपिल लगत्तै भारतबाट ११ जनाको विशेष उद्धार टोली (एनडीआरएफ/विशेषज्ञ) र चीनको विशेषज्ञ टोली काठमाडौँ हुँदै सिधै रसुवाको प्रभावित क्षेत्रमा पुगेर सुरुङभित्र फसेकाहरूको उद्धारमा खटिएका छन्।
​नेपालका परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार सुरुङभित्र फसेका मानिसको उद्धार, भत्किएका पुलको पुनः सञ्चालन, मृतकको पहिचान तथा डीएनए परीक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग माग गरिएको हो। भारतीय उद्धार टोलीले आधुनिक उपकरणसहित जलविद्युत् आयोजनाका जटिल सुरुङहरूमा खोजी कार्य जारी राखेको छ।
​२,३७१ को जीवितै उद्धार, सीमा क्षेत्रमा पनि सतर्कता
​नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ४,८५४ भन्दा बढी सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। उद्धारका क्रममा २७ जना प्रहरी कर्मचारीहरूसमेत सम्पर्कविहीन भएका छन्। हालसम्म २ हजार ३ सय ७१ जनाको जीवितै उद्धार गरिएको छ भने १४० भन्दा बढी घाइतेको काठमाडौँका अस्पतालहरूमा उपचार भइरहेको छ।
​भोटेकोशी र त्रिशूलीमा फेरि बाढीको जोखिम बढेपछि मुग्लिन हुँदै भारततर्फ बहने नदीका तटीय क्षेत्रहरूमा समेत उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ। राहत र पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा ४ अर्ब ३८ करोड रुपैयाँ सङ्कलन भइसकेको छ भने भारत सरकारले थप प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

About Author

Advertisement