यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदी बहिनी–दाजुभाइबीच सशक्त पुल हो: अनित थापा

IMG-20251214-WA0118

दार्जिलिङ: दार्जीलिङ हिल असंगठित श्रमिक वेलफेयर एशोसिएसनको प्रथम स्थापना दिवस सम्पन्न भएको छ। यस अवसरमा जीटीए प्रमुख अनित थापाले सबैलाई हार्दिक शुभकामना ज्ञापन प्रकट गरेका छन्। यस अवसरमा आफ्नोे सम्बोधनमा अनित थापाले यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदी बहिनी–दाजुभाइबीच सशक्त पुल हो भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदीबहिनी–दाजुभाइबीच सशक्त पुल हो। दैनिक ज्यालादारी गरेर आफ्नो परिवारको भरणपोषण गर्ने, छोराछोरीलाई शिक्षा र परिवारलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन दिनरात मेहनत गर्ने मजदुरहरूको हितका लागि यो संस्था गठन गरिएको हो।’
उनले अघि भने, ‘सरकारले असंगठित श्रमिकहरूको लागि सामाजिक सुरक्षा, बीमा, पेन्सन, स्वास्थ्य, मातृत्व सहायता लगायत थुप्रै योजना सञ्चालन गरेका छन्, तर सही सूचना नपुगेका कारण धेरै श्रमिक अझै पनि ती सुविधाबाट वञ्चित छन्।
संस्थाको प्रमुख जिम्मेवारी सरकारद्वारा सञ्चालित श्रमिक–कल्याण कार्यक्रम, जस्तै असंगठित श्रमिकका लागि सामाजिक सुरक्षा योजना, बीमा तथा श्रमिक कल्याण बोर्डका सुविधाहरू गाउँघर सम्म पुर्‍याउने हो।’
थापाले अझ भने, ‘श्रमिक दाजुभाइ–दिदीबहिनीलाई दर्ता, कार्ड बनाउने, कागजात बुझाउने, अनलाइन प्लेटफर्ममा नाम दर्ता गराउन सहयोग गर्ने गरी वास्तविक जीवनमै उपयोगी सेवा पुर्‍याउनु संस्थाको प्रथमिकता हुनुपर्छ। संगठनको पहुँच नगर वा बजारसम्म सीमित नराखी, प्रत्येक ग्राम पञ्चायत, गाउँ, बस्ती र बस्तीसम्म विस्तार गरेर तल्लो तहसम्म सेवा पुर्‍याउनु जरुरी छ। मजदुरको घर–घरमा पुगेर उनीहरूको समस्या सुन्ने, फारम भरिदिने, अस्पताल, कार्यालय, बैंक, श्रम विभाग आदि जानुपर्दा सघाउने खालको ठोस र स्पर्शनीय सहयोग गर्नु संस्थाको पहिचान हुनुपर्छ।’


अनित थापाले अघि भने, हाम्रो पहाडमा स्थानीय स्किल्ड लेबर को कमी छ; भवन निर्माण, प्लम्बिङ, इलेक्ट्रीकल, मेशिनरी, कृषि वा बगैँचा सम्बन्धी सीप सिकाउने तालिम कार्यक्रम सञ्चालन गर्न सकियो भने यसले मजदुरको आम्दानी र आत्मसम्मान दुवै बढाउँछ।श्रमिकलाई केवल सहयोग पाइने वर्ग होइन, सीप, अनुशासन र संगठनमार्फत पहाडको विकासमा अगुवा शक्ति बनाउने दृष्टिकोणबाट अघि बढ्नु आवश्यक छ। संस्था चलाउँदा मजदुरबाट विभिन्न नाममा अनावश्यक पैसा बटुल्ने अभ्यासलाई पूर्ण रूपमा त्याग्दै, पारदर्शिता, इमानदारिता र विश्वसनीयता कायम राख्नुपर्छ। मजदुरको दुःख हल्का पार्न, उनीहरूको बालबच्चाको भविष्य उज्यालो बनाउन गरिएको प्रत्येक प्रयास स्वयं धर्म र पुण्यको काम हो; यति मात्र गर्न सकियो भने पनि यस संगठनले समाज र इतिहास दुवैमा विशेष स्थान पाउनेछ।’

About Author

Advertisement