यूको बैंकको वित्तीय सूचकमा उल्लेख्य सुधार

IMG-20261015-WA0074

नाफा २६.७७ प्रतिशतले बढ्यो, कुल कारोबार ६ खर्ब ३७ अर्ब नाघ्यो
​

कोलकाता: ​सार्वजनिक क्षेत्रको प्रतिष्ठित यूको बैंकले चालू आर्थिक वर्ष २०२६/२७ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट प्रदर्शन दर्ता गरेको छ। सेप्टेम्बर ३०, २०२६ सम्मको अवधिमा बैंकको कुल कारोबार अघिल्लो वर्षको सोही अवधिको ५ खर्ब ३६ अर्ब ३८ करोड रुपैयाँको तुलनामा १८.८१ प्रतिशतले बढेर ६ खर्ब ३७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। मुख्य रूपमा कर्जा विस्तार र निष्क्रिय कर्जाको प्रभावकारी व्यवस्थापनका कारण बैंकको नाफामा उल्लेख्य सुधार आएको हो।
​समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ६ अर्ब २० करोड रुपैयाँबाट २६.७७ प्रतिशतले वृद्धि भई ७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। यसै गरी बैंकको परिचालन नाफा पनि १६.०४ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा खुद ब्याज आम्दानी १३.९६ प्रतिशतले बढेर २८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने गैर-ब्याज आम्दानीतर्फ शुल्क आधारित आय ३४.६६ प्रतिशतको उच्च वृद्धिका साथ ५ अर्ब ५८ करोड रुपैयाँ नाघेको छ। खुद ब्याज मार्जिन घरेलु स्तरमा ३.१९ प्रतिशत र वैश्विक स्तरमा ३.०० प्रतिशत कायम भएको छ।
​बैंकले खुद्रा, कृषि तथा साना-मझौला उद्योग (आरएएम) क्षेत्रमा आक्रामक रूपमा कर्जा प्रवाह गरेको छ। आरएएम खण्डतर्फ समग्र कर्जा २६.९२ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। खुद्रा कर्जातर्फ ३०.२३ प्रतिशतको वृद्धि भई ७६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जसमा सवारी साधन कर्जा ६१.९१ प्रतिशत र गृह कर्जा २०.२९ प्रतिशतले बढेका छन्। त्यसै गरी कृषि कर्जा २९.५९ प्रतिशतले बढेर ४१ अर्ब १ करोड रुपैयाँ र एमएसएमई कर्जा २०.३२ प्रतिशतले बढेर ५० अर्ब ९० करोड रुपैयाँ पुगेको छ। निक्षेपतर्फ चल्ती र बचत (कासा) निक्षेप १०.५९ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेपमा कासाको हिस्सा ३६.७७ प्रतिशत कायम भएको छ।
​जोखिम व्यवस्थापन र असुली प्रक्रियालाई चुस्त बनाउँदा बैंकको सम्पत्ति गुणस्तरमा उल्लेख्य सुधार आएको छ। सकल निष्क्रिय कर्जा (ग्रास एनपीए) ६० आधार बिन्दुले घटेर १.९६ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा २५ आधार बिन्दुले घटेर ०.१८ प्रतिशतको सुरक्षित स्तरमा सीमित भएको छ। सम्भावित कर्जा नोक्सानीका लागि गरिएको प्रावधान कवरेज अनुपात ९८.३६ प्रतिशत पुगेको छ भने पुँजी पर्याप्तता अनुपात १८.८५ प्रतिशत (टियर-१ पुँजी १७.२७%) रहेको छ।
​हाल बैंकका ३ हजार ४ सय ३९ घरेलु र हङकङ, सिङ्गापुर तथा गिफ्ट सिटी गरी ३ अन्तर्राष्ट्रिय शाखाहरूसहित कुल ३ हजार ४ सय ४२ शाखाहरू सञ्चालनमा छन्। कुल घरेलु शाखामध्ये ६१ प्रतिशत ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा रहेकाले वित्तीय समावेशन र पहुँच विस्तारमा बैंकले प्रभावकारी भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको प्रति शाखा कारोबार १८४ करोड रुपैयाँ र प्रति कर्मचारी कारोबार ३० करोड रुपैयाँ पुगेको छ।

About Author

Advertisement