याली गाउँको ५० वर्ष पुरानो देवी थानमा गाउँ शान्तिको निम्ति पुजा

IMG-20230413-WA0005.jpg

गान्तोकः पूर्व सिक्किमको गान्तोक नजिक याली गाउँमा पचास वर्ष पुरानो देवी थानमा लामो अन्तररालपछि विधिवत रूपमा पूजा अर्चना गरियो। लगभग पचास वर्षदेखि देवी नाग र लामा-लमेनीको पूजा अर्चना गरिने याली गाउँको शीरमा स्थित यो देवी थानमा पूजा गर्ने विधी भने अन्य मन्दिरहरू भन्दा बेग्लै अनि परम्परागत रहेको हुनाले विशेष आकर्षणको केन्द्र रहेको छ। जहाँ लामो समयदेखि झाँक्रीको सेवा गर्दै आएका वृद्ध झाँक्री आइतसिंह तामाङ र उनको चेला बिरेन तामाङको नेतृत्वमा घरदेखि देवी थानसम्मको यात्रा निकालेर गाउँको सुख-शान्ति र समृद्धिको कामनासहित गरिने पूजा अर्चनाको क्षेत्रमा छुट्टै महत्व रहेको छ। यसै परम्परालाई पुनः जागरण गर्न केही वर्षदेखि थाँतीमा राखिएको देवी पूजा यो सालबाट शुरु गरिएको छ।

पुजारी तथा मूल झाँक्री आइतसिंह तामाङले यो सालदेखि पूजा गर्ने निधो गर्नुको पछि गाउँमा केही अशान्ति नहोस भन्ने तथा जोखानामा पनि देवी थानको मान-मनितो नपुगेको प्रसंग आइरहेको हुनाले गाउँलेहरूले पूजा गर्ने निर्णय गरेको बताए। जुन गाउँ समाजको भलाईको निम्ति रहेको जानकारी गराए। यसैगरी, स्थानीय गाउँले समाजिक कार्यकर्ता पदम गुरुङले यो देवी थानको इतिहास बताउँदै लगभग पचास वर्ष पहिलेदेखि यहाँ देवी पूजा आयोजन गर्ने परम्परा शुरु भएको बताए। उनले स्थानीय एक दश वर्षीय बालिकाले यो देवी थान पत्तो लगाएपछि गाउँमा शान्ति आएको अनि निरन्तर पूजा अर्चना गरिएको भएपनि केही वर्षयता यो प्रथा बन्द हुँदा पुगेका धेरै हानिहरूलाई ध्यानमा राखेर योपालीदेखि पुनः पुरानो परम्परालाई फर्काइल्याएको बताए।

आजको पूजामा सियारी निर्वाचन क्षेत्रका सत्तारूढ एसकेएम पार्टीका मुख्य समन्वयक पेम्पा ग्याल्छेन लेप्चा मुख्य अतिथिको रूपमा रहेका थिए। उनले गाउँको यो प्रयासमा सामेल हुन पाउँदा खुशी लागेको बताउँदै यस क्षेत्रको विकासको निम्ति गाउँलेहरूको मागलाई ध्यानमा राखेर भावि कार्यहरू गरिने वचन दिए। यसरी नै देवी पूजा कार्यक्रममा जिल्ला पञ्चायत सदस्य सियारी ताथाङचेन लाक्पा कागते, सियारी निर्वाचन क्षेत्र अध्यक्ष भीम बहादु तामाङ, उपाध्यक्ष कर्मा सोनाम, स्वस्थ्य समन्वयक नरेश तामाङ, वार्ड पञ्चायत ढोलकुमारी गुरुङ, लगायत याली गाउँ, सेतीलाखा, फाकेलाखा, भुसुकका स्थानीय मानिसहरूको बाक्लो सहभागीता रहेको थियो। यसैगरी, सत्तारूढ दलका कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement