अटलाण्टा: अर्जेण्टिनाले अन्तिम समयमा असाधारण पुनरागमन गर्दै लगातार दोस्रोपल्ट फिफा विश्व कपको फाइनलमा प्रवेश गऱ्यो। अटलाण्टा स्टेडियममा बुधवार राति खेलिएको फिफा विश्व कप २०२६-को दोस्रो सेमिफाइनलमा अर्जेण्टिनाले ईंग्ल्याण्डलाई २-१-ले पराजित गऱ्यो। स्थानापन्न खेलाड़ी लौटारो मार्टिनेजले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा हेडरद्वारा गोल गरी अर्जेण्टिनालाई जीत दिलाए। वर्तमान च्याम्पियन अर्जेण्टिनाले अब आइतवार खेलिने फाइनलमा स्पेनको सामना गर्नेछ। यसरी अर्जेण्टिना खिताब बचाउनदेखि केवल एक कदमको दूरीमा रहेको छ। यसरी शुरुवाती बढ़तलाई बचाउन नसक्दा ईंग्ल्याण्डको विश्व कप जित्ने सपना चाहिँ भताभुंगै भयो। ईंग्ल्याण्डले अब शनिवार खेलिने तेस्रो स्थानको म्याचमा फ्रान्सको चुनौती स्वीकार्नेछ। ईंग्ल्याण्डले दोस्रो हाफको खेलमा एन्थोनी गोर्डनको गोलको सहायताले बढ़त हासिल गरेको थियो तर अर्जेण्टिनाले कप्तान लियोनल मेस्सीको प्रेरणादायी प्रदर्शनको साथ ७ मिनटभित्र २ गोल गरी म्याच जित्यो। यसरी तीनपल्टको च्याम्पियन अर्जेण्टिनाले सातौंपल्ट विश्व कपको फाइनलमा स्थान बनायो। अर्जेण्टिनाले यसअघि १९७८, १९८६ र २०२२-मा ट्रफी जितेको थियो। यसरी १९३०, १९९० र २०१४-मा टीम उपविजेता रहेको थियो। यसबाहेक १९६६-मा विश्व कप जित्ने ईंग्ल्याण्डको यो सेमिफाइनलमा तेस्रो हार हो। यसअघि टीमले १९९० र २०१८-मा पनि सेमिफाइनलमा हारको सामना गर्नु परेको थियो।
दोस्रो सेमिफाइनल म्याच आशानुरुप चरम रोमाञ्चक रह्यो। पहिलो हाफको खेलमा दुवै टीमले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। दोस्रो हाफको खेलमा चाहिँ ईंग्ल्याण्ड गोल हासिल गर्न सफल भयो। एन्थोनी गोर्डनले ५५औं मिनटमा असाधारण फिनिशिंगको साथ ईंग्ल्याण्डलाई बढ़त दिलाए। उनले मोर्गन रोजर्सको क्रसमा गोल गरे। म्याचमा पछाड़िएपछि अर्जेण्टिनाले तेजीको साथ आक्रमण गर्न थाल्यो। आफ्नो टीमलाई चरम संकटबाट बाहिर निकाल्नमा अर्जेण्टिनाको निम्ति फेरि एकपल्ट कप्तान मेस्सीले चमत्कारी प्रदर्शन गरे। अर्जेण्टिनाले म्याचको दुवै गोल उनको सुन्दर एसिस्टमा हासिल गऱ्यो। लगातार आक्रमण गर्ने क्रममा अर्जेण्टिनाले अन्तमा गएर ८५औं मिनटमा बराबरीको गोल हासिल गऱ्यो। मेस्सीको पासमा एञ्जो फर्नाण्डेजले लामो दूरीबाट दर्शनीय गोल गरी ईंग्ल्याण्डका प्रशंसकहरूलाई स्तब्ध बनाए। त्यसपछि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा अर्जेण्टिनाको निम्ति लौटारो मार्टिनेजले निर्णायक गोल गरे। उनले पनि मेस्सीकै पासमा गोल गरेर अर्जेण्टिनालाई २-१-ले विजयी बनाए। अर्जेण्टिनाले यसअघि प्री-क्वार्टर फाइनलमा पनि इजिप्टविरुद्ध २ गोल खाएपछि असाधारण पुनरागमन गर्दै ३-२-ले म्याच जितेको थियो। म्याचमा ईंग्ल्याण्डका गोलकीपर जोर्डन पिकफोर्डले असाधारण प्रदर्शन गर्दै केही उत्कृष्ट शेभ गरे। उनको फूर्तिलो प्रदर्शनले गर्दा ईंग्ल्याण्ड म्याचमा धेरैपल्ट गोल खानदेखि बाँच्यो।










