यस वर्ष ‘निफ’को ओपनिङमा ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’

3-1

काठमाडौं: आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म हुने भएको छ। निफ फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्रीबाट महोत्सवको उद्घाटन गर्ने बताए। डकुमेन्ट्रीमा आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई मुख्य विषय बनाइएको छ। निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रता प्राप्तिको खोजको रुपमा प्रस्तुत गर्ने प्रयास रहेको बताएकी छिन्। हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार पारेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र त्यसको पाँच वर्षपछि काम थालेको लिनले जानकारी दिइन्।

सात वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा देखाइँदै आएको छ। डकुमेन्ट्रीले गत वर्ष ‘वार्सा इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘एसियन प्यासिफिक अडियन्स अवार्ड’ र ‘नेटप्याक अवार्ड’ जितेको थियो। यो डकुमेन्ट्री निफमा पनि ‘माउन्ट एभरेस्ट अवार्ड’का लागि प्रतिस्पर्धामा छनोट भएको छ। यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्। विजेता फिल्मले एक हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्। आउँदो महिना १४ मार्च देखि १८ मार्च (चैत १ देखि ५ गते)सम्म आयोजना हुने निफ फेस्टिभलमा यो वर्ष ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला,छलफल र अन्तक्रियाहरु संचालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल र भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । 

About Author

Advertisement