मोरङ पूर्वी नेपालको केराबारीमा राँगो आतंक

IMG-20240403-WA0006

झापा, भद्रपुर (नेपाल): पूर्वी नेपाल अन्तर्गत मोरङको केराबारीमा गाउँ प्रवेश गरेर आतंक मच्चाउने एउटा राँगोलाई गोली हानेर मारिएको छ। केराबारी गाउँपालिका–८ आमजुंगीस्थित खेतमा देखा परेको बेवारिसे राँगोलाई मंगलबार साँझ ७.२५ बजेतिर गोली हानिएको हो। इलाका पुलिस कार्यालय केराबारीबाट वरिष्ठ सइ (वरिष्ठ पुलिस नायव निरीक्षक) केदार सापकोटा नेतृत्वको टोलीले मार्का फोर राइफलबाट २ राउण्ड गोली प्रहार गरेको थियो। एक राउण्ड गोलीले नमरेपछि अर्को राउण्ड पनि गोली हान्नु परेको पुलिसले जनाएको छ। मोरङ पुलिस  प्रमुख एसपी नवराज कार्कीका अनुसार अचानक गाउँमा देखा परेको राँगोले मान्छेलाई जथाभावी आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिने प्रयास गरिएको थियो। नियन्त्रणमा लिन सम्भव नभएपछि मोरङका प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद भट्टराईको आदेशमा गोली हानेर मारिएको पुलिसले जनाएको छ।

राँगोले हानेर एक जना घाइतेसमेत भएका छन्। राँगोको आक्रमणबाट केराबारी–८ का ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएको  एसपी कार्कीले बताए। उनका अनुसार घाइतेलाई उपचारका निम्ति विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। खेतमा देखा परेको राँगो खेदाउने क्रममा साँझ ५.४० बजेतिर कार्कीलाई आक्रमण गरेको थियो। त्यसलगत्तै पुलिस, जनप्रतिनिधि र स्थानीयसहितको टोलीले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। पहिले नै घाइते अवस्थामा रहेको राँगोले यत्रतत्र भौतारिएर बहुलाएको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीय त्रसित एवं आतंकित बनेका थिए।

About Author

Advertisement