बोस्टन: कप्तान किलियन एम्बाप्पे र उस्मान डेम्बेलेले दोस्रो हाफमा दिलाएको गोलको दममा फ्रान्स फिफा वर्ल्ड कप २०२६-को सेमिफाइनलमा पुग्ने पहिलो टीम बन्यो। बिहीवार भारतीय समयानुसार अबेर राति खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा गत संस्करणको उपविजेता फ्रान्सले अफ्रिकी महाशक्ति मोरक्कोलाई २-०-ले पराजित गऱ्यो। अमेरिकाको बोस्टन स्टेडियममा पहिलो हाफको खेलमा एम्बाप्पेले पेनल्टीबाट गोल गर्ने मौका गुमाए पनि टीमले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार २ गोल गरी म्याच जित्यो। चार साल अघि कतरमा भएको वर्ल्ड कपमा पनि यी दुई टीमबीच सेमिफाइनलमा भिड़न्त भएको थियो अनि त्यस समय पनि फ्रान्सले जीत हासिल गरी फाइनलमा स्थान बनाएको थियो। यसपाली म्याचको पहिलो हाफमा एम्बाप्पेलाई रोक्न सफल भए पनि दोस्रो हाफमा मोरक्कोले आत्मसमर्पण गऱ्यो। यस हारको साथ मोरक्कोको अन्तर्राष्ट्रिय फूटबलमा ३४ वटा म्याचदेखि जारी अजेय यात्रामा पनि विराम लाग्यो। म्याचमा फ्रान्सले शुरुदेखि नै आक्रामक फूटबल खेल्यो। मोरक्कोका गोलकीपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गर्दै केही असाधारण शेभहरू नगरेको भए फ्रान्सको गोल संख्या अझ बढ़ने थियो। म्याचको २८औं मिनटमा फ्रान्सीसी कप्तान एम्बाप्पेको पेनल्टीमा बनोनोउले असाधारण शेभ गरे। मोरक्कोका डिफेण्डर माजाउरीले एम्बाप्पेलाई बक्सभित्र लंकी थापेर लड़ाउँदा फ्रान्सलाई पेनल्टी हासिल भएको थियो। पहिलो हाफको खेल गोलरहित समाप्त भएपछि फ्रान्सले दोस्रो हाफमा गोलको खाता खोल्यो। एम्बाप्पेले ६०औं मिनटमा डेजिरे डुएको पासमा गोल गरी फ्रान्सलाई बढ़त दिलाए। यो वर्ल्ड कपको जारी संस्करणमा एम्बाप्पेको आठौं गोल हो। यसको साथ उनले अर्जेण्टिनाई दिग्गज लियोनल मेस्सीको बराबरी गरेका छन्। गोलको संख्या बराबर भए पनि एसिस्टको मामिलामा अघि रहेको हुनाले गोल्डन बूटको रेसमा एम्बाप्पे शीर्षमा रहन पुगेका छन्। एम्बाप्पेले ३ वटा एसिस्ट गरेका छन् भने मेस्सीको नाममा केवल एउटा एसिस्ट रहेको छ। एम्बाप्पेले गोल गरेको ६ मिनटपछि डेम्बेलेले अझ एक गोल थपेर फ्रान्सको जीत सुनिश्चित गरे। उनले एम्बाप्पेको पासमा गोल गरे। यस वर्ल्ड कपमा डेम्बेलेको यो पाँचौं गोल हो। दोस्रो हाफको गोलमा फ्रान्सले अझ केही गोल गर्ने मौकाहरू गुमायो।









