विकसित बंगाल’ को मार्गचित्रबारे छलफल
कोलकाता: आरपी-संजीव गोयन्का ग्रुपका अध्यक्ष डा. संजीव गोयन्काले पश्चिम बंगालका माननीय मुख्यमन्त्री श्री सुभेन्दु अधिकारीसँग राज्य सचिवालय ‘नवान्न’ मा भेटवार्ता गर्नुभएको छ।
उहाँहरूबीचको छलफल मुख्यत: पश्चिम बंगालको समृद्धि, औद्योगिक पारिस्थितिकी प्रणाली (इकोसिस्टम) लाई सुदृढ बनाउने अवसर, लगानी आकर्षण, रोजगारी सिर्जना र राज्यको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउने विषयहरूमा केन्द्रित थियो। भारतकै प्रमुख आर्थिक संवाहक (ग्रोथ इन्जिन) का रूपमा पुन: उदाउनका लागि पश्चिम बंगालसँग पर्याप्त प्रतिभा, गौरवमय इतिहास, बलियो पूर्वाधार र उद्यमशील भावना रहेको सन्दर्भमा दुवै पक्ष सहमत देखिए। यद्यपि, यो सम्भावनालाई यथार्थमा बदल्न लगानीकर्ताहरूको आत्मविश्वास र सरकार एवं उद्योग क्षेत्रबीच रचनात्मक साझेदारी आवश्यक रहेको कुरामा जोड दिइयो।
भेटका क्रममा मुख्यमन्त्री श्री सुवेन्दु अधिकारी र डा. संजीव गोयन्काले ‘विकसित बंगाल’ को साझा दृष्टिकोणबारे गहन विचार-विमर्श गर्नुभयो। गोयन्का परिवार विगत २२० वर्षभन्दा बढी समयदेखि बंगालमा गहिरो गरी जोडिएको छ। आर्थिक उतारचढावका बाबजुद राज्यलाई नछोडी यहीँ लगानी गर्न, संरचना निर्माण गर्न र अवसरहरू सिर्जना गर्न यो समूह प्रतिबद्ध रहँदै आएको छ। हाल डा. संजीव गोयन्का पूर्वी भारतकै सबैभन्दा प्रतिष्ठित व्यावसायिक नेताका रूपमा स्थापित हुनुहुन्छ।
”पश्चिम बंगालका माननीय मुख्यमन्त्रीज्यूसँग भेट गरी राज्यको विकासका लागि उहाँका दूरगामी योजनाहरू सुन्न पाउनु मेरा लागि निकै सुखद अनुभव रह्यो। ‘विकसित बंगाल’ का लागि उहाँको दृष्टिकोण प्रेरणादायी र भविष्यमुखी छ। उहाँको ऊर्जा, उत्साह र सानाभन्दा साना विवरणहरूमा पनि विशेष ध्यान दिने कार्यशैली उत्तिकै प्रशंसनीय छ। हामीले पश्चिम बंगालको विकास यात्रा, औद्योगिक वातावरणलाई थप सुदृढ बनाउने, ठूलो मात्रामा लगानी भित्र्याउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र राज्यको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउने अवसरहरूका बारेमा फलदायी छलफल गर्यौं। प्रगति र समृद्धिको यस साझा यात्रामा योगदान दिन म उत्सुक छु”, डा. गोयन्काले भने।











