मेरो आफ्नै कथा

00-1-Aafnai-Katha

मेरो बाबैको हातको दाल जस्तै

मेरी आमैको चडके जिब्रो जस्तै

खै कसरी म भित्र फडकी रहन्छ

आफ्नोत्वको परिभाषाहरू

कसरी कसरी भय उम्लिरहन्छ

अगेनाको ताप्केमा

चोली पहिरिनु कि

ममता पहिरीनु

कुनै समय एउटा थियो

ढेडोमा गुन्द्रुक मुसिएको जस्तै

कोदोमा मात मुसिएको जस्तै

रातमा बात मुसिएको जस्तै

हामी मुसिएर मिस्सिएका थियौं

अहिले हामी मिस्सिएर घुलिएका छौं

हामी भित्र दशैं छ

टीका छ

जसरी म भित्र

छोरी बुहारी आमा

उत्तालो यौवन आलो छ

मलाई आज मालश्री गाउनु छ

मलाई डिस्को जानु छ

मलाई बिस्कुन सुकाउनु छ

मलाई रोधी घरमा नाच्नु छ

मलाई तामाङ सेलो गाउनु छ

मलाई गाउनु छ

सेलीनाको पप अंग्रेजी गीतहरू

अङ्गाल्नु छ

अनि

लेख्नु छ धिब्रीको प्रकाश देखि  

बिजुलीको उजेलीसम्म

सूर्यको लाली देखि

चन्द्रमाको दागसम्म

फैलिएको मेरो आफ्नै कथाl।

About Author

Advertisement