३ सिक्किम बटालियन अन्तर्गत पहिलो ब्याचका क्याडेटहरू सामेल
गान्ताेक: मेधावी स्किल्स युनिभर्सिटी (एमएसयू)-ले राष्ट्र निर्माणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै ३ सिक्किम बटालियन एनसीसी अन्तर्गत नव-नामांकित राष्ट्रिय क्याडेट कोर (एनसीसी) इकाईको औपचारिक उद्घाटन गरेको छ। विश्वविद्यालयको प्राङ्गणमा आयोजित एक भव्य समारोहमा नयाँ क्याडेटहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न हुनुका साथै गलवान घाटीका शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरियो।
उक्त उद्घाटन समारोहमा एमएसयू-का प्रो-भाइस चान्सलर (एकेडेमिक्स) डा. अश्विनी कुमार शर्मा, ३ सिक्किम बटालियन एनसीसीका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल बेन्दाङ सुनेप र हवल्दार गुरभेज सिंह लगायत एनसीसी अधिकारीहरू, विश्वविद्यालयका प्राध्यापक वर्ग, कर्मचारी अनि विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
परम्परागत रूपमा दीप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रो-भाइस चान्सलर डा. अश्विनी कुमार शर्माले अनुशासन, चरित्र निर्माण र सामुदायिक सेवा नै देशका निम्ति जिम्मेवार नागरिक तयार गर्ने मुख्य आधार भएको कुरामा जोड दिनुभयो। उहाँले नयाँ क्याडेटहरूलाई एनसीसीले प्रदान गर्ने यो सुनौलो अवसरको सदुपयोग गर्दै जीवनोपयोगी सीपहरू सिक्ने अनि समाजमा सकारात्मक योगदान पुर्याउने आह्वान गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षण नयाँ क्याडेटहरूको औपचारिक सपथ ग्रहण समारोह रह्यो, जहाँ नव-नियुक्त क्याडेटहरूले एनसीसीको मूल मन्त्र “एकता र अनुशासन”-लाई आत्मसात गर्दै देश सेवाको सपथ लिए। सो अवसरमा क्याडेटहरूलाई सिधै सम्बोधन गर्दै लेफ्टिनेन्ट कर्नल बेन्दाङ सुनेपले सैनिक पोशाक (युनिफर्म) को गरिमा र यसभित्र लुकेको गम्भीर जिम्मेवारीबारे प्रकाश पार्नुभयो। उहाँले क्याडेटहरूलाई आफ्नो सम्पूर्ण यात्रा अवधिभर निष्ठा, टिमवर्क र देशभक्तिको उच्च मापदण्ड कायम राख्ने प्रेरणा दिनुभयो।
यस अवसरमा युनिभर्सिटीका विद्यार्थीहरूले गलवान घाटीमा देशको रक्षाका निम्ति प्राण आहुति दिने अग्रपंक्तिका वीर भारतीय सैनिकहरूको बलिदानलाई झल्काउने एउटा मर्मस्पर्शी नाटक प्रस्तुत गरेका थिए। विश्वविद्यालयको सांस्कृतिक क्लबद्वारा तयार पारिएको उक्त देशभक्तिपूर्ण नाटक, सामूहिक गीत अनि नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा एक विशेष भिडियो वृत्तचित्र प्रदर्शन सहित गलवानका वीर शहीदहरूको सम्मानमा दुई मिनेटको मौन धारण समेत गरियो।
राष्ट्रिय गानको गायन, सामूहिक तस्विर सेसन अनि आमन्त्रित विशिष्ट सैनिक तथा प्राज्ञिक अतिथिहरूलाई सम्बर्द्धना (सम्मान) जनाउँदै यस ऐतिहासिक कार्यक्रमको समापन गरियो।









