मेघालय: विश्व खाद्य दिवसमा तुरा फुड फेस्ट आयोजना हुँदै

IMG-20261014-WA0072

तुरा: विश्व खाद्य दिवसको अवसरमा मेघालयको तुरा सहरमा अक्टोबर १६ मा ‘तुरा फुड फेस्ट’ आयोजना हुने भएको छ। महोत्सवमा स्थानीय आदिवासी परिकार, ताजा कृषि उपज, स्थानीय कला तथा सांस्कृतिक प्रस्तुतिहरू समेटिनेछन्।
मिनुटिए र द नाइट फेयरको सहकार्यमा आयोजना हुन लागेको महोत्सव दिउँसो १२ बजेदेखि डाकोपग्रेस्थित सोरा कम्प्लेक्सको ठीक अगाडि रहेको सिएरा मोटर्स ग्यारेजमा सुरु हुनेछ। महोत्सवको मूल नारा ‘आज नवप्रवर्तन, भोलि पोषण’ रहेको छ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय आदिवासी परिकार तथा पेय पदार्थ, कृषि उपज र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय खानाका विविध परिकारलाई प्रवर्द्धन गर्नु हो। यसले स्थानीय उत्पादक, पाककलामा संलग्न कलाकार तथा उद्यमीहरूलाई आफ्ना उत्पादन र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै कृषि पर्यटन र सामुदायिक सहभागितालाई समेत प्रोत्साहन गर्ने आयोजकले जनाएका छन्।
महोत्सवमा खेतबाट सिधै उपभोक्तासम्म पुग्ने ताजा कृषि उपज, परम्परागत तथा हस्तनिर्मित खाद्य परिकारका स्टल, स्थानीय पेय पदार्थ र स्थानीय कलाकारका प्रत्यक्ष सांगीतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। साँझ ६ बजे भव्य तम्बोला खेल सञ्चालन गरिनेछ। त्यसपछि ‘सेभेन युनाइटेड फोटोग्राफी च्यालेन्ज’को नतिजा घोषणा गरिने कार्यक्रम रहेको छ।
महोत्सवको नेतृत्व द नाइट फेयरका आयोजक इम्तिला जामिर र जोए फेलिक्स चेरान तथा मिनुटिएका मोरेनोले गरिरहेका छन्। यस पहलको उद्देश्य स्थानीय प्रतिभालाई प्रवर्द्धन गर्ने, साना व्यवसायलाई सहयोग पुर्‍याउने र समुदायमा आधारित पर्यटनलाई थप सुदृढ बनाउने रहेको छ।
महोत्सव सर्वसाधारणका लागि खुला रहनेछ। आयोजकले स्थानीय बासिन्दा तथा आगन्तुकहरूलाई यस कार्यक्रममा सहभागी भई क्षेत्रको मौलिक खाद्य संस्कृतिको अनुभव लिनुका साथै स्थानीय किसान, उत्पादक र उद्यमीहरूलाई सहयोग गर्न आह्वान गरेका छन्।

About Author

Advertisement