झापा: मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक पुगेका छन। मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०२३/२o२४ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५ सय ४ जना बढी पर्यटक पुगेका हुन्।
घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेले २०२३ अगस्तदेखि २०२४ जुलाई महिनासम्म ७४ हजार ३ सय ७४ वटा सवारी साधनमार्फत ४ लाख २७ हजार २ सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिए। तीन लाख १८ हजार ८ सय १४ जना आन्तरिक, ९९ हजार २ सय ७६ जना सार्क राष्ट्रका र ९ हजार १ सय ७१ जना तेस्रो देशका पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिँदै उनले आर्थिक वर्ष २०२२/२०२३ मा ६२ हजार ३ सय ४० वटा सवारी साधनमार्फत ३ लाख ७९ हजार ७ सय ६७ जना पर्यटक मुस्ताङ आएका र आन्तरिक पर्यटक ३ लाख ३ हजार ८ सय जना र विदेशी ७५ हजार ९ सय ६७ जना रहेका जनाउनुभयो। सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको स्थानीय जनताहरुले बताए। मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो सङ्ख्या भारतीयको छ। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन्। सार्क देश बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउछन्।










