मुम्बई इण्डियन्सको कोचिंग स्टाफमा व्यापक फेरबदल

IMG-20261029-WA0055

मलिंगासहित ३ जनाको विदाई

नयाँ दिल्ली: आईपीएल २०२७ अघि ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सले आफ्नो कोचिंग स्टाफमा ठूलो फेरबदल गरेको छ। टोलीले बलिंग प्रशिक्षक लसिथ मलिंगा र पार म्हाम्ब्रेको साथमा फील्डिंग प्रशिक्षक कार्ल हपकिन्ससँग पनि नाता तोड़ेको छ। मुम्बई इण्डियन्सले बिहीवार यसको आधिकारिक पुष्टि गरेको छ। फ्रेञ्चाइजीले आफ्नो वेबसाइटमा जारी बयानमा तीनैजना प्रशिक्षकको योगदानको सराहना गर्दै उनीहरू प्रति आभार व्यक्त गरेको छ। मुम्बई इण्डियन्सले मलिंगा, म्हाम्ब्रे र हपकिन्स पुरुष टोलीको कोचिंग सेटअपबाट अलग हुने बताएको छ। यसको साथमा टोलीले तीनैजनालाई भविष्यको निम्ति शुभकामना पनि दिएको छ। श्रीलंकाका पूर्व पेस बलर लसिथ मलिंगा मुम्बई इण्डियन्सका सबैभन्दा चर्चित र सफल खेलाड़ीहरूमा सामेल रहे। उनले टोलीको बलिंग आक्रमणको अगुवाई गर्ने फ्रेञ्चाइजीलाई ४ पल्ट च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसबाहेक उनी २०११-मा च्याम्पियन्स लीग टी२०-को खिताब जितिने मुम्बई इण्डियन्स टोलीको पनि हिस्सा थिए। खेलाड़ीको रूपमा योगदान दिएपछि मलिंगा मेण्टर र प्रशिक्षकको रूपमा फ्रेञ्चाइजीमा कायम रहेका थिए। मुम्बई इण्डियन्सले उनको गहिरो लगाउ, प्रतिस्पर्धी भावना र टोली प्रति प्रतिबद्धताको सराहना र्दै उनको विरासत सदा फ्रेञ्चाइजीको महत्त्वपूर्ण हिस्सा रहने बताएको छ। पारस म्हाम्ब्रेको पनि मुम्बई इण्डियन्ससँग लामो समयदेखि नाता रहेको थियो। उनी पहिलोपल्ट २०१०-मा फ्रेञ्चाइजीमा सामेल भएका थिए अनि २०१७-सम्म टोलीमा रहेका थिए। त्यसपछि उनी २०२४-मा मुम्बई इण्डियन्समा फर्किएका थिए। बलिंग प्रशिक्षकको रूपमा म्हाम्ब्रेले टोलीका बलरहरूका प्रतिभालाई निखार्न अनि उनीहरूलाई विकसित गर्नमा योगदान दिए। फ्रेञ्चाइजीले उनको अनुभव, समर्पण र टोली संस्कृति (टीम कल्चर)-को गहिरो जानकारीको प्रशंसा गरेको छ। यसको साथमा टोली भित्र मजबूत सम्बन्ध बनाउनमा उनको योगदानलाई पनि महत्त्वपूर्ण बताएको छ। ईंग्ल्याण्डका पूर्व फील्डिंग प्रशिक्षक कार्ल हपकिन्स २०२५ सीजन अघि मुम्बई इण्डियन्सको कोचिंग स्टाफमा सामेल भएका थिए। उनले आफूसँग ईंग्ल्याण्डको पुरुष क्रिकेट टोलीसँग काम गर्ने अन्तर्राष्ट्रिय अनुभवलाई टोलीमा ल्याएका थिए। मुम्बई इण्डियन्सले फील्डिंगको स्तरलाई असल बनाउनको निम्ति उनको पेशादार सोच, विशेषज्ञता र प्रतिबद्धताको सराहना गरेको छ। उल्लेखनीय छ, मुम्बई इण्डियन्सले हालै वेष्ट इण्डिजका पूर्व अलराउण्डर कायरन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

About Author

Advertisement