मुख्यमन्त्री ब्रह्मकुमारी सामाजिक सेवा प्रकोष्ठद्वारा अभिनन्दित

IMG-20241110-WA0224

गान्तोक: स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तिकरण थीमका साथ ब्रह्मकुमारी ईश्वरीय विश्वविध्यालय गान्तोक केन्द्रको तत्वावधानमा आज राजधानी गान्तोकको मनन केन्द्रमा एक कार्यक्रम आयोजना गरिएको थियो।
यस अवसरमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, मन्त्रीगण, विधायकगण, ब्रह्रमकुमारीका प्रतिनिधिगण लगायत अन्य गन्यमान्य व्यक्तिहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूमा सिस्टर सन्ध्याले स्वागत सम्बोधन राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारिन्। यसरी नै दिल्ली सामाजिक सेवा प्रकोष्ठकी क्षेत्रीय संयोजक बीके आशाले ब्रह्मकुमारीको परिचय प्रस्तुत गरिन्। यसपछि आध्यात्मिक सशक्तिकरणको माध्यमबाट स्वस्थ जीवन जिउने विषयमाथि प्रेरक वक्ता बीके ईभी गिरिशले प्रेरक वक्तव्य राखे। कार्यक्रममा सामाजिक सेवा प्रकोष्ठहरूको बारेमा माउण्ट आबु राजस्थानका सामाजिक सेवाका राष्ट्रिय संयोजक बीके अवतारले प्रकाश पारे भने वाह जिन्दगी वाह विषयमा केरला सामाजिक सेवा प्रकोष्ठका राष्ट्रिय संयोजक डा. ईभी स्वामीनाथनले प्रेरणादायी मन्तव्य प्रस्तुत गरे।

सामाजिक सेवा प्रकोष्ठ माउण्ट आबुका मुख्यालय संयोजक बीके बिरेन्द्रले शपथ गराएपछि सामाजिक सेवा प्रकोष्ठका अतिरिक्त राष्ट्रिय संयोजक बीके वन्दनाले आशीष स्वरूप आफ्नो मन्तव्य राखिन्। कार्यक्रममा ब्रह्मकुमारी माउण्ट आबुको सामाजिक सेवा प्रकोष्ठद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अभिनन्दन जनाइयो। यसैगरी मुख्यमन्त्रीले पनि सामाजिक प्रकोष्ठका सदस्यहरूलाई सम्मान जनाए।

About Author

Advertisement