गान्तोक। अखिल भारतीय महिला सम्मेलनका एक प्रतिनिधिद्वारा नेपाली भाषामा कलाकारहरूद्वारा प्रदर्शन गरिने एक प्रस्तुतिलाई गैर-भारतीय ठहर गर्दै रद्द गरिदिएकोमा बयान राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अचम्भित तुल्याउने साथै निराशजनक रहेको बताएका छन्। आफ्नो फेसबूक पेजमार्फत मुख्यमन्त्री तामाङले यसबारे प्रतिक्रिया व्यक्त गर्दै नेपाली भाषा डेढ़ करोड़ भारतीयहरूले बोल्ने भाषा रहेको अनि नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूची अन्तर्गत मान्यता पाइसकेको बताएका छन्। यस प्रकारको बयानले सम्पूर्ण नेपालीभाषी समुदायको भावनालाई गहिरो ठेस पुगेको मुख्यमन्त्री तामाङले थप बताएका छन्। मुख्यमन्त्री तामाङले यस विषयमा उक्त संस्थालाई पत्राचार गरिसकेको अनि सिक्किमेली जनसमुदायले यस्तो दुखद बयानको निन्दा गर्दछ भन्ने मन्तव्य व्यक्त गरेका छन्। अखिल भारतीय महिला सम्मेलनले तत्कालै यस मामिला समाधान गर्नुपर्ने अनि चाँड़ै प्रतिक्रियाको मुख्यमन्त्री तामाङले आशा साँचेका छन्।










